छाउगोठमा बसेकी किशोरी लडेर घाइते

हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका ७ मा छाउगोठमा बसेकी लक्ष्मी शाही लडेर घाइते भएकी छन् । पानी परेको बेला छाउगोठ बाहिर निस्कदा १७ वर्षीय लक्ष्मी शाही लडेर घाइते भएकी हुन् । घाइते भएकी शाहीको आर्थिक अभावमा उपचार हुन नसकेको परिवारले जनाएको छ ।

महिनावारी भएका बेला छाउगोठमा बस्दा लडेकी लक्ष्मीको दायाँ खुट्टाको माथिल्लो भाग नचल्ने भएको छ । घर भन्दा टाढा रहेको छाउगोठमा छोरी लडेको आमाबुबाले पछिल्लो दिन मात्रै थाहा भएको थियो । लडेपछि देवी देवता पुजाआजा गरिएको तर ठिक नभएको घाइते शाहीले बताइन् ।

धामीझाँक्रीकै भरमा उपचार

गत फागुन २० गते छाउगोठबाट लडेरघाइते भएकी लक्ष्मी शाहीलाई गाउँमै धामीझाँक्री कहाँ गई उपचार गराउँदा ठिक नभएपछि चैत्र ९ गते मात्र जिल्ला अस्पताल हुम्लामा ल्याइएको आमा धनकौरा शाहीले बताइन् ।

धनकौलले भनिन्–‘गाउँमा महिनावारी भएका बेला घोडालाई छोएकोले देवता रिसाएर यस्तो भएको भनेपछि दुई खसी देवताको नाममा बलि पनि चढाइयो तर छोरीलाई सन्चो भएन ।’

गाउँमा धामीझाँक्रीले ठिक नभएपछि लक्ष्मीलाई जिल्ला अस्पताल हुम्ला पुर्याइएको छ । जिल्ला अस्पताल हुम्लाले यहाँ उपचार सम्भव नभएको भन्दै आइतबार नै रिफर गरिएको प्रमुख डाक्टर रञ्जितकुमार यादवले बताए ।

आर्थिक अभावमा उपचारमा समस्या

आर्थिक अभाव भएपछि छाउगोठबाट लडेर घाइते भएकी किशोरीलाई जिल्ला बाहिर लैजान समस्या भएको किशोेरीकी आमाले दुखेसो गरेकी छन् । सरोकारवाला निकायले सहयोग गरेमा छोरीको उपचार गर्न सकिन्थ्यो कि भन्दै आसु झार्दै धनकौरा शाहीले दुखसो गरिन् ।

साभार : नयाँ पत्रिका दैनिक


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार