घरको चौघेराबाट उद्यमशीलताको बाटो समातेका पलाँसेका महिला

  वास खबर सम्बाददाता  69 पटक हेरिएको
🔗
43
Shares

मकवानपुर : मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–३, पलाँसे गाउँ । पहाडी भूगोल, सीमित रोजगारीका अवसर, न्यून आय र दैनिक जीविकोपार्जनका चुनौती बीच महिलाहरुको जिन्दगी घरधन्दामै सीमित थियो । तर अहिले यही पलाँसेका महिलाहरूको हातबाट बनेको साबुनले सरसफाइ सँगै आत्मनिर्भरताको आशा जगाएको छ ।

Welthungerhilfe (डब्लुएचएच) र नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) को साझेदारीमा सञ्चालित मकवानपुरका पहाडी क्षेत्रमा वास प्रणाली सुदृढीकरण तथा व्यवहार परिवर्तन परियोजना अन्तर्गत साबुन बनाउने तालिम लिएपछि पलाँसेका महिलाहरुको जीवनले नयाँ बाटो पहिल्याएको हो ।

महिला मुक्ति बचत तथा ऋण सहकारी संस्थाको अनुरोधमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) ले पलाँसेका चार जना महिलालाई तालिममा सहभागी गराएको थियो । उनीहरुको इच्छा, क्षमता र भविश्यमा समेत निरन्तरता दिन सक्ने जस्ता आधारमा सहकारीका सदस्यहरुलाई मात्र तालिममा सहभागी गराएको सहकारी संस्थाका अध्यक्ष सीता सिङतानले बताउनुभयो।

तालिमले महिलाहरूलाई आम्दानीको अवसरसँगै दैनिक सरसफाइ अभ्यास र स्वास्थ्यको महत्व बुझ्न मद्दत गरेको छ । प्लस टु अध्ययन गरिरहेकी अनिका रुम्बा भन्नुहुन्छ “पहिले देखि नै केही सीप सिक्न पाए हुन्थ्यो भन्ने मन थियो, यही इच्छाले मलाई साबुन बनाउने तालिम सम्म पुर्‍यायो ।” सुरुमा साबुन बनाउने प्रक्रिया अलि कठिन र अनौठो भए पनि अभ्यास गर्दै जाँदा सहज भएको र अब साबुन बनाउने सीपले नै आत्मानिर्भर हुने उहाँको विश्वास छ।

अनिका जस्तै सहकारीका अर्का सदस्य समीना माया ब्लोन पनि नियमित रूपमा साबुन उत्पादनमा संलग्न हुनुहुन्छ । खेतीपातीको तुलनामा साबुन बनाउने काम सरल मात्र नभई नियमित आम्दानीको स्रोत बनेको उहाँ बताउनुहुन्छ “एक–दुई पैसा हातमै देख्न पाइन्छ, सहकारीमा बचत गर्न पनि सकिन्छ,” मुस्कुराउँदै उहाँले भन्नुभयो।

आफैले बनाएको साबुन प्रयोग गर्दा परिवारमा हात धुने, लुगा सफा राख्ने र सरसफाइमा ध्यान दिने बानीको विकास भएको मन्जु रुम्बाको भनाइ छ। “हामी पहिले किनेर प्रयोग गर्ने मान्छे अहिले आफैले साबुन बनाएर प्रयोग गर्न पाउँदा अति नै गर्व लागेको छ” रुम्बा भन्नुहुन्छ “यसले समुदायमा स्वास्थ्य जोखिम घटाउन पनि सहयोग पुर्‍याएको छ ।”

आरआरएनकी वास सहजकर्ता शान्ति लिम्बुका अनुसार साबुन दैनिक जीवनको आधारभूत सामग्री हो। “दिनमा चार–पाँच पटक प्रयोग हुने भएकाले यसको माग सधैं रहन्छ र सरसफाइ प्रवद्र्धनमा प्रभावकारी छ” उहाँ भन्नुहुन्छ “गुणस्तरीय, सस्तो र आफ्नै समुदायमा बनाइएका साबुनले मानिसलाई आकर्षित गर्ने भएकाले यसले बजार नपाउने भन्ने नै हुँदैन ।”

दीगो आम्दानीको बाटो

महिला मुक्ति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता सिङ्तानका अनुसार तालिममा पठाएका चारै जना सहकारीका सदस्यहरुले व्यावसायिक रूपमा साबुन उत्पादन गरिरहेका छन्। अहिलेसम्म १० लट भन्दा बढी बिक्री भइसकेको छ । उहाँका अनुसार एक लटमा ६० वटा साबुन उत्पादन हुन्छ ।

सहकारी संस्थाका सदस्यहरु, शनिबारको हाटबजार र राक्सिराङ गाउँपालिकामा हुने नियमित बजार मार्फत साबुन बिक्री भइरहेको छ ।

सहकारी संस्थाका अध्यक्ष सिङ्तान भन्नुहुन्छ “सानोबाट सुरु गर्नुपर्छ, शुरुमा थोरै उत्पादन गरेर गुणस्तर देखाउने, बजारमा विश्वास बनाउने र बजार विस्तार गर्ने योजना छ ।” अहिले हातबाट साबुन बनाउने काम गरिरहेको सहकारीले भविश्यमा मेसिन ल्याएर उत्पादन बढाउने, गुणस्तर सुधार गर्ने र बजार विस्तार गर्ने सहकारीको योजना छ । चार जनाबाट सुरु भएको साबुन उत्पादनको कामले भविश्यमा १० जनासम्मलाई रोजगारी दिने लक्ष्य राखिएको छ ।

मकवानपुरका पहाडी क्षेत्रमा वास प्रणाली सुदृढीकरण तथा व्यवहार परिवर्तन परियोजनाको यो पहलले महिलाहरुको आय आर्जन, सामुदायिक स्वच्छता र स्वास्थ्यलाई एक साथ जोडेको छ । परियोजना अन्तर्गत सुरु भएको सानो प्रयासले समुदाय भित्र सरसफाइको बानी बसाउन, महिलालाई सम्मानजनक रोजगारीको अवसर दिलाउन र आयआर्जनको दिगो माध्यम बनाउन सफल भएको संस्थाका अध्यक्ष सीता सिङ्तानको भनाइ छ ।

तालिममा सिकेको सीपले महिलाहरूलाई घरको चौघेराबाट बाहिर निकालेर उद्यमशीलताको बाटोमा डोर्‍याएको छ भने सहकारीको समन्वय र बजार पहुँचले गर्दा दीगो व्यवसायिक मोडल तयार भएको छ ।

मकवानपुरका पहाडी क्षेत्रमा वास प्रणाली सुदृढीकरण तथा व्यवहार परिवर्तन परियोजना अन्तर्गत साबुन बनाउने तालिम पाएपछि राक्सिराङ र कैलाश गाउँपालिकाका तीन सहकारी संस्थाले आफ्ना सहकारीका सदस्यहरुलाई रोजगारी दिई लुगा धुने साबुन उत्पादन गरिरहेको आर.आर.एन.का प्रोग्राम म्यानेजर निराजन पोखरेलले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार