विनोद धौलागिरि, गौरीगञ्ज (झापा)
सबैका लागि स्वास्थ्यमा पहुँचको सुनिश्चितताका लागि स्वास्थ्य सेवा विस्तारभन्दा पहिले आधारभूत सरसफाइ सेवामा पहुँच पु-याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
“हामीलाई लाग्ने रोगहरुमध्ये ६० देखि ८० प्रतिशत रोगहरु कमजोर सरसफाइका कारण लाग्छन्”, झापाको गौरीगञ्जमा विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा खुल्ला दिसामुक्त अभियानका संयोजक सोमनाथ आचार्यले भन्नुभयो, “सरसफाइमा गरिएको लगानीले दीर्घकालीन रुपमा कम्तिमा पाँच गुणा बढी प्रतिफल दिन्छ । त्यसैले सरसफाइमा लाग्ने रकम खर्च नभएर लगानी हो ।”

आचार्यले सरसफाइको विषयमा चर्चा गरिरहँदा गौरीगञ्ज गाउँपालिका वडा नं. ५ का अध्यक्ष विजयसिं गनगाईले यही महिनाभित्र वडालाई खुल्ला दिसामुक्त अवस्थामा पु-याई सरसफाइको पहिलो सूचक पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“अहिलेसम्म सरसफाइ प्रवद्र्धन र खुल्ला दिसामुक्त अभियानलाई तपाईहरुको विषयमात्र ठानेका थियौं, त्यसैले सरसफाइ प्रवद्र्धनमा गुणात्मक रुपमा सहभागी हुन सकिएको थिएन”, वडाध्यक्ष गनगाईले अभियानकर्ता ज्ञानु राजवंशीतर्फ लक्षित गर्दै भन्नुभयो, “अब सरसफाइ हामी सबैको साझा सरोकारको विषय बनेको छ, तपाईहरुलाई भन्दा हामीलाई बढी चिन्ता छ ।”

गौरीगञ्ज गाउँपालिका, वडा नं. ५ डाँगीटोल सम्पन्न बस्तीको रुपमा चिनिन्छ । तर पनि यहाँ रहेका ४१ घरमध्ये ६ घरमा मात्र सुरक्षित शौचालय रहेका छन् भने एक दर्जन घरमा शौचालय निर्माणाधीन अवस्थामा रहेका छन् ।
“विपन्न बस्तीहरुमा शौचालय निर्माण भैसक्दा यो सम्पन्न बस्तीमा अझै पनि चर्पी बनाउन आलटाल गरिरहनुभएको थियो”, अभियानकर्ता अमरकुमार रायले भन्नुभयो, “सबैका आँखा खोल्नका लागि यही स्थानमा कार्यक्रम आयोजना गरिएको हो ।”
कार्यक्रमका सहभागीहरुले सरसफाइ नै स्वास्थ्यको आधार भए पनि आफूहरुले यसभन्दा अगाडि सरसफाइको बारेमा आवश्यक जानकारी प्राप्त गर्न नसकेकै कारण सरसफाइलाई जीवनपद्धतिको रुपमा अंगाल्न नसकेको प्रतिक्रिया दिनुभयो ।
बिर्तामोड नगरपालिकामा स्वास्थ्य दिवसको अवसरमा बिर्तामोड नगरपालिका, वडा नं. ३ मा सामुदायिक प्रहरी सेवासँगको समन्वयमा सचेतना कार्यक्रम सम्पन्न भयो । वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र मानव विकास केन्द्रको सहजीकरणमा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवाका वासुदेव माझी, सरसफाइ समितिका पुष्प वली र रञ्जु प्याकुरेल, मानव विकास केन्द्रका भरत कुसुवार लगायतले कमजोर सरसफाइ नै नेपालमा बाल मृत्युको एक मुख्य कारण भएको बताउँदै सरसफाइ प्रवद्र्धनले रोग लाग्नबाटै बचाउने भएकोले अस्पताल बनाउनुभन्दा व्यस्त बजारमा सार्वजनिक शौचालय बनाउनुपर्नेमा जोड दिनुभयो ।
मेचीनगर नगरपालिका, वडा नं. १५ मा अन्तरक्रिया र घरदैलो कार्यक्रम गरी स्वास्थ्य दिवस मनाइएको नगर कार्यपालिका सदस्य रुपा गुरुङले जानकारी दिनुभयो ।
शिवसताक्षी नगरपालिकामा दीपावली
शिवसताक्षी नगरपालिकालाई विश्व स्वास्थ्य दिवसको अवसरमा खुल्ला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेको छ । चैत्र २५ गते खुल्ला दिसामुक्त घोषणा गरिनुपूर्व शनिबार साँझ दीपावली गरिएको छ ।

“सुन्दर, स्वच्छ, स्वस्थ र हराभरा नगर बनाउने हाम्रो प्रतिवद्धताको पहिलो पाइला आज पूरा भएको छ”, नगरपालिकाको कार्यालयमा आयोजना गरिएको दीपावली कार्यक्रममा नगर प्रमुख चन्द्रकुमार शेर्माले भन्नुभयो, “भोलि खुल्ला दिसामुक्त घोषणाकै अवसरमा पूर्ण सरसफाइ कार्ययोजना सार्वजनिक गरी पूर्ण सरसफाइको यात्रा तय गर्ने छौं ।”

नगर उपप्रमुख भोजकुमारी नेपालले साबुन र हर्पिकलाई औषधीजन्य बस्तुको रुपमा लिइनुपर्ने र सरसफाइलाई स्वास्थ्यको पहिलो सूचकको रुपमा लिइनुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पंकज भूर्तेलले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो भएकोले ठोस तथा तरल फोहरको उचित प्रवन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।
खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने निकाय ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था बिराट सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष मोहन सिवाकोटीले सामाजिक रुपान्तरणका लागि संस्थाको सहजीकरण निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी शिवसताक्षी नगरपालिकाको झिलझिले बजारमा समेत खुल्ला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा दीपावलीको आयोजना गरियो । वडाध्यक्ष, वडा सचिव, स्थानीय साझेदार र बजारबासीको सहभागिता रहेको सो कार्यक्रमका सहभागीहरुले आजको दिनदेखि कसैले पनि खुल्लामा दिसा नगर्ने र अरुलाई पनि खुल्ला स्थानमा दिसा गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।


840 पटक हेरिएको 

