
काठमाडौं : कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा दर्शकको स्वास्थ्य र सरसफाइलाई ध्यानमा राख्दै सुर्खेत स्थित क्रिकेट रङ्गशालामा दुई वटा सुरक्षित तथा सुविधायुक्त शौचालय निर्माण गरिएको छ।
कर्णाली प्रदेश सरकारको अनुरोधमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र वास क्लस्टर कर्णालीको समन्वयमा सुस्वा आयोजना, युनिसेफको वास टोली, हेल्भेटास, फेडवासन र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त पहलमा शौचालय निर्माण गरी सञ्चालनका लागि तयार पारिएको हो।
शौचालयहरू प्रयोगकर्तामैत्री, सुरक्षित तथा सुविधायुक्त बनाइएको सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकायाले जानकारी दिनुभयो । यसका साथै खेलाडी, दर्शक तथा अन्य आगन्तुकका लागि सुरक्षित र क्लोरिनयुक्त खानेपानीको व्यवस्था पनि गरिएको छ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा देशका सातवटै प्रदेशबाट खेलाडीहरू सहभागी भइरहेका छन्। प्रतियोगिताका विभिन्न खेलमा हजारौँ दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ। ‘यस्तो अवस्थामा खेलस्थलमा सुरक्षित शौचालय र स्वच्छ खानेपानीको उपलब्धताले खेलाडी तथा दर्शकको स्वास्थ्य, सरसफाइ र मर्यादा कायम गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ’ उहाँले भन्नुभयो।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू मंसिर ८ गतेदेखि नै सुरु भएका छन्। प्रतियोगिताको औपचारिक उदघाटन भने मंसिर १६ गते हुने तय भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतियोगिताको उदघाटन गर्ने जानकारी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुर्खेतमा आयोजित पत्रकार सम्मेलन मार्फत दिनुभएको छ।

मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुनु नै महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ। यस अघिका राष्ट्रिय प्रतियोगिता प्रायः काठमाडौं केन्द्रित हुने गरेको उल्लेख गर्दै उहाँले यसपटक कर्णालीमा प्रतियोगिता आयोजना हुनु सकारात्मक पक्ष भएको बताउनुभएको थियो।
प्रतियोगिताको मुख्य उद्घाटनस्थलमा प्राविधिक पक्ष बाहेकका अन्य तयारी पूरा भएको आयोजकले जनाएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीको प्रतिस्पर्धा र खेल कौशल प्रदर्शन गर्ने अवसर मात्र नभई खेलस्थलमा स्वच्छता, सरसफाइ, सुरक्षित खानेपानी र मर्यादित सेवाको सुनिश्चितता गर्ने अवसर समेत हो।
फोटोहरु : गोविन्द रोकायाको फेसबुकबाट।


74 पटक हेरिएको 

