
काठमाडौं : काठमाडौं उपत्यकाका परम्परागत नेवारी परिकारले सांस्कृतिक पहिचान सँगै स्वस्थ आहार, कृषि जैविक विविधता र जलवायु उत्थानशील खाद्य प्रणाली निर्माणका लागि समेत महत्त्वपूर्ण ज्ञान बोकेको विज्ञहरूले बताएका छन्।
उनीहरूले परम्परागत खानाको संरक्षणसँगै स्थानीय बाली, रैथाने बीउ, मौलिक कृषि अभ्यास र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको खाद्य ज्ञानको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौंमा जारी ‘काठमाडौं क्लाइमेट एक्सन विक २०२६’ अन्तर्गत शनिबार आयोजित ‘काठमाडौं उपत्यकाका स्थानीय खानाको पुनःखोज : जलवायु उत्थानशीलताका लागि दिगो मार्ग’ विषयक अन्तरक्रियामा सहभागी विज्ञहरूले यस्तो धारणा राखेका हुन्।
एकीकृत सहरी विकास केन्द्र (CIUD) ले आयोजना गरेको कार्यक्रममा परम्परागत नेवारी खाद्य संस्कृति, आदिवासी कृषि अभ्यास, जैविक विविधता, जनस्वास्थ्य र जलवायु परिवर्तन बीचको सम्बन्ध बारे छलफल गरिएको थियो।
कार्यक्रममा वरिष्ठ वनस्पतिविद् तथा जैविक विविधता विज्ञ डा. निर्मला जोशी प्रधानले ‘अमूर्त सांस्कृतिक सम्पदा र जलवायु अनुकूलन : काठमाडौं उपत्यकाका जातीय खानासँग सम्बन्धित विषय’ शीर्षकमा प्रस्तुति दिनुभयो।

उहाँले नेवारी खाद्य संस्कृति, परम्परागत कृषि प्रणाली, रैथाने वनस्पति र प्राकृतिक वातावरण बीच पुस्तौंदेखि रहँदै आएको सम्बन्धबारे प्रकाश पार्नुभयो। प्रकृति, मौसमी चक्र र स्थानीय कृषि उत्पादनसँग जोडिएर विकसित भएका परम्परागत परिकारले स्थानीय समुदायको वातावरणीय ज्ञान र खाद्य विविधतालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनुभयो।
क्वाँटी, समयबजी, योमरी, बारा (वः), पु्वाखुना लगायतका परम्परागत परिकार स्थानीय कृषि उत्पादन र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको खाद्य ज्ञानका उदाहरण भएको उहाँको भनाइ थियो।
डा. प्रधानका अनुसार काठमाडौं उपत्यकाका नेवार समुदायसँग सम्बन्धित खाद्य प्रणालीमा १८ प्रजातिका जंगली वनस्पति, ३८ प्रजातिका खेती गरिएका वनस्पति र २५ वटा नेवार सांस्कृतिक समूह सँग सम्बन्धित ४४ प्रकारका जातीय परिकार पहिचान गरिएका छन्।
यी परिकारले खानामा विविधता थप्नुका साथै प्रोटिन, भिटामिन र खनिज जस्ता पोषक तत्त्व उपलब्ध गराउने उहाँले बताउनुभयो। परम्परागत खाद्य सामग्रीको उत्पादन, तयारी र उपभोगलाई निरन्तरता दिन सके सांस्कृतिक पहिचान जोगिनुका साथै पोषणयुक्त आहार प्रवर्द्धनमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो।
कृषि जैविक विविधता जोगाउन रैथाने बालीको संरक्षण
कार्यक्रममा परम्परागत कृषि अभ्यासलाई पुरानो वा अप्रासंगिक पद्धतिका रूपमा नभई दिगो कृषि, खाद्य सुरक्षा र जलवायु अनुकूलनको महत्त्वपूर्ण आधारका रूपमा बुझ्नुपर्नेमा जोड दिइयो।
काठमाडौं उपत्यकाका किसानले पुस्तौंदेखि स्थानीय हावापानी र मौसमी अवस्था अनुसार धान, तरकारी, गेडागुडी, फलफूल तथा विभिन्न रैथाने वनस्पतिको खेती गर्दै आएका छन्। यस्ता अभ्यासले स्थानीय माटो, पानी, जैविक विविधता र खाद्य उत्पादन प्रणालीसम्बन्धी परम्परागत ज्ञानलाई समेत संरक्षण गर्दै आएको छ।

रैथाने बीउ, स्थानीय बालीका प्रजाति, परम्परागत खेती विधि, मौसमी उत्पादन तथा उत्पादन पछिको व्यवस्थापन सम्बन्धी ज्ञान संरक्षण गर्न आवश्यक रहेको कार्यक्रममा औंल्याइयो।
स्थानीय रूपमा उपलब्ध मौसमी खाद्य वस्तुको उत्पादन र उपभोग बढाउन सके किसान, स्थानीय बजार र सहरी उपभोक्ता बीचको सम्बन्ध बलियो हुनुका साथै कृषि जैविक विविधता संरक्षणमा समेत योगदान पुग्ने सहभागीहरूको भनाइ थियो।
खाद्य संस्कृतिमाथि जलवायु परिवर्तन र सहरीकरणको दबाब
अनियमित वर्षा, बढ्दो तापक्रम, तीव्र सहरीकरण, पूर्वाधार विकास, बसाइँसराइ र बदलिँदो खानपानको रुचिले परम्परागत बाली तथा खाद्य अभ्यास जोखिममा पर्दै गएको कार्यक्रममा चर्चा गरियो।
कृषियोग्य जमिन र परम्परागत खेती प्रणाली हराउँदै जाँदा स्थानीय वनस्पति तथा बालीका प्रजाति मात्र नभई तिनको खेती, प्रशोधन, तयारी र उपभोगसम्बन्धी पुस्तौंदेखिको ज्ञान समेत हराउने जोखिम रहेको सहभागीहरूले बताए।

परम्परागत खाद्य संस्कृतिको संरक्षण गर्नु जैविक विविधताको संरक्षण र जलवायु उत्थानशीलता अभिवृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको उनीहरूको निष्कर्ष थियो।
विशेषगरी ज्येष्ठ पुस्तासँग रहेको परम्परागत कृषि तथा खाद्य ज्ञानलाई अभिलेखीकरण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइयो। यसका लागि शिक्षा, सामुदायिक सहभागिता र व्यावहारिक सिकाइलाई प्राथमिकता दिनुपर्ने सहभागीहरूको सुझाव थियो।
कृषि, कम्पोस्ट र स्थानीय उद्यमलाई जोड्नुपर्ने
कार्यक्रममा ललितपुर महानगरपालिकाका कृषि तथा वनस्पति विज्ञ एवं सल्लाहकार डा. पुष्पमान अमात्य, फोहोर व्यवस्थापन तथा कम्पोस्टिङ विज्ञ सानुमैयाँ महर्जन र ब्लु वेस्ट टु भ्यालु तथा जिरो क्याफेका प्रमुख कार्यकारी अधिकृत नवीन विकास महर्जनले प्यानल छलफलमा भाग लिनु भएको थियो।
छलफलमा परम्परागत खाद्य प्रणालीलाई दिगो कृषि, कम्पोस्ट मल उत्पादन, जिम्मेवार खाद्य अभ्यास, स्थानीय उद्यमशीलता र जलवायु उत्तरदायी सहरी विकाससँग जोड्ने सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो।
स्थानीय तह तथा सम्बन्धित संस्थाले आदिवासी बाली, परम्परागत खाद्य प्रणाली र जैविक विविधता संरक्षणका विषयलाई सहरी योजना तथा स्थानीय विकास नीतिमा समेट्नुपर्नेमा समेत जोड दिइयो। कार्यक्रमले काठमाडौं उपत्यकाको परम्परागत खाद्य सम्पदा संरक्षण गर्नु विगतको संस्कृति सम्झनु मात्र नभई स्वस्थ, दिगो र जलवायु उत्थानशील भविष्य निर्माण गर्नु पनि भएको निष्कर्ष निकालेको छ।


44 पटक हेरिएको 

