इस्लामावाद : सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलन भैरहेको इस्लामावादमा स्थापना गरिएको नेपालको स्टलमा सरसफाइ सम्बन्धी जान्न र बुझ्न चाहनेको भीड लागेको छ । सम्मेलनमा सहभागी विभिन्न देशका सहभागीले नेपालको स्टलबाट सरसफाइ सम्बन्धीका सामग्रीहरु पर्याप्त प्राप्त गर्न सकिने भएकाले भीड बढेको हो ।

स्टल अवलोकनकर्ताले जानकारी हासिल गर्न चाहेको खण्डमा बर्णन गरिदिने, सरसफाइ सम्बन्धी विभिन्न पुस्तक र सरसफाइ सामग्रीहरु वितरण गर्ने भएकाले सहभागीको आकर्षण बढेको हो ।

नेपालले सम्मेलन शुरु भएको दिन देखि नै स्टलमा सरसफाइ सम्बन्धी विभिन्न सामग्री प्रदर्शन गर्दै आएको छ । स्टल अवलोकनका लागि आउने सहभागीले जानकारी बिनै फर्किनु नपरोस् भन्ने हेतुले स्टलमा पालैपालो बस्ने व्यवस्था मिलाएको छ ।

स्टलमा सरसफाइ सम्बन्धी सामग्री माग्ने, जानकारी हासिल गर्न चाहने र नेपालले अवलम्बन गरेको सरसफाइ सम्बन्धी पद्धतिहरुलाई आफ्नो देशमा समेत लैजान चाहने खालका सहभागीहरु आउने गरेको नेपालको स्टल हेरिरहनुभएका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले जानकारी दिनुभयो ।

पहिलो दिनदेखि आजसम्ममा ३ सय बढीले स्टलको अवलोकन गरेका छन् । अस्तिदेखि जारी सरसफाइ सम्मेलन आज इस्लामावाद घोषणा पत्र जारी गरी सकिदैछ ।




679 पटक हेरिएको 

