जहाँ महिलाले प्रयोग गरेको चर्पी गहुँतले चोख्याईन्छ

बैतडी : चर्पी पनि गहुँतले चोख्याएर मात्र प्रयोग गरिन्छ भन्ने सुन्दा अचम्म लाग्छ । यस्तै अचम्मित बनाउने खबर छ बैतडीको शिवनाथ गाउँको । शिवनाथमा महिनावारी भएको महिलाले प्रयोग गरेको चर्पी अरूले प्रयोग गर्नुपरेमा गहुँतले चोख्याएर मात्रै प्रयोग गरिन्छ ।

महिनावारी भएको महिलाले चर्पी प्रयोग गरे अछुत हुने र घरमा अनिष्ट हुने सामाजिक धारणाले महिनावारी भएको महिलाले चर्पी समेत प्रयोग गर्न नपाईने र प्रयोग गरेपनि गहुँतले चोख्याएर मात्र अरुले प्रयोग गर्न पाइने शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताउनुभयो ।

गाउँका केही पढ ेलेखेका तथा सामाजिक क्षेत्रमा काम गर्ने महिलाले आफूले प्रयोग गरेको शौचालय गहुँतले चोख्याइ दिएपछि अर्को मान्छेले प्रयोग गर्न पाइने नियम नै बनाएको उपाध्यक्ष चन्दल बताउनुभयो । ‘चोख्याएर मात्र शौचालय प्रयोग गर्ने उपाय हामीले नै सुझाएका हौं, त्यति गरे कम्तीमा घरका मान्छेले गाली गर्न सक्दैनन् यो पनि एउटा परिवर्तन हो’ उहाँले भन्नुभयो । ‘पहिले पहिले महिनावारी भएको समयमा चर्पीमा दिसापिसाब गर्नै पाउँदैनथे ।’

परिवारका ठूला मान्छे र गाउँका बूढापाकाको गाली खानबाट जोगिनका लागि पनि त्यो उपाय अनिवार्य भएको उहाँले बताउनुभयो । ‘त्यति नगरे कुरा काट्नेहरूले बसिखान दिदैनन्, गाउँका महिलाहरूको भेलाले नै यस्तो उपाय निकालिएको हो ।’

शिवनाथ गाउँपालिकाका महिलाले मात्रै होइन, मेलौली नगरपालिकाका महिलाले समेत महिनावारी भएको समयमा शौचालयको प्रयोग गर्न पाउँदैनन् । गाउँका बूढापाकाले गाली गर्ने र समाजमा कुरा काट्ने भयले पनि शौचालय प्रयोग नगरेको वडा नंं. ८ विशालपुरका वडाध्यक्ष पदमसिंह ठगुन्नाले बताउनुभयो ।

तत्कालीन विशालपुर गाउँ विकास समिति जिल्लामै दोस्रो खुला दिसामुक्त क्षेत्रका रूपमा ३१ असार २०६९ मा घोषणा भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार