
काठमाडौ : खानेपानी मन्त्रालयले महिनावारी नीतिलाई सरोकारवालाहरुको बृहत छलफल पछि चाँडै मन्त्रीपरिषदमा पेश गर्ने भएको छ । खानेपानी मन्त्रालयमा सम्पन्न MHM Practitioners Alliance (MHM PA) को आठौं बैठकमा खानेपानी मन्त्री विना मगरले महिनावारी सम्बन्धी नीतिलाई चाँडै मन्त्रीपरिषदमा पेश गर्ने र महिनावारी स्वच्छता व्यवस्थापनको क्षेत्रमा समेत लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
खानेपानी मन्त्रालयले यही मे २८ मा हुन गइरहेको महिनावारी स्वच्छता दिवस मनाउनका लागि स्वास्थ्य तथा शिक्षा मन्त्रालय, महिला तथा बालबालिका, MHM PA र अन्य सरोकारवाला सम्मलित कार्यसमूह समेत गठन गर्ने भएको छ ।
दिवसलाई राष्ट्रिय, प्रदेश स्तरीय तथा नगरपालिका र गाउँपालिका स्तरमा समेत व्यापक जनसहभागिता जुटाएर मनाइने निर्णय गरिएको बैठकको सहजीकरण गर्नुभएका MHM Practitioners Alliance (MHM PA) का गुणराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँ WSSCC जेनेभाका नेपाल प्रतिनिधी समेत हुनुुहुन्छ ।

बैठकको अध्यक्षता राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं सहसचिव अनिल भद्र खनालले गर्नुभएको थियो भने बैठकको प्रमुख अतिथि खानेपानी मन्त्री बीना मगर र विशेष अतिथि खानेपानी मन्त्रालयका सचिव कृष्णराज विसी हुनुहुन्थ्यो ।
खानेपानी मन्त्रालयले MHM Practitioners Alliance (MHM PA) सँग महिनावारी सँग सम्बन्धित विषय तथा परियोजनासँग सम्बन्धित काम गर्न समन्वय र सहकार्य समेत गर्ने भएको छ ।
MHM Practitioners Alliance नेपालमा महिनावारी स्वच्छताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सञ्जाल हो ।



610 पटक हेरिएको 

