
काठमाडौ : सिरहाको विभिन्न गाउँपालिका तथा नगरपालिकामा सञ्चालित खानेपानी, सरसफाइ र स्वच्छता अधिकार परियोजना मार्फत सिरहाका १ लाख २८ हजार २५२ जना लाभान्वित भएका छन् । वाटर एड नेपालले विभिन्न साझेदार संघसंस्था मार्फत सञ्चालन गरेको कार्यक्रमबाट १ लाख २८ हजार २५२ जना लाभान्वित भएको वाटर एड नेपालका कार्यक्रम प्रबन्धक सर्वज्ञ श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार खानेपानीको दिगो व्यवस्थापन सम्बन्धी ६५६ जनाको क्षमता अभिबृद्धि भएको, खानेपानी, सरसफाइ र स्वच्छता अधिकारका बिषयमा ३ हजार ६२२ जनालाई अनुशिक्षण प्रदान गरिएको छ भने ४० दलित महिला समूह मार्फत ६२२ जना महिलाको नेतृत्व विकास गराइएको छ ।
१३८५ संरचनाबाट १६ हजार ३७० जना लाभान्वित
वाटर एडले साझेदार संस्था मार्फत सञ्चालित विभिन्न खानेपानी आयोजनाबाट १६ हजार ३७० जना लाभान्वित भएका छन् ।
सिरहा जिल्लामा सञ्चालन गरेको खानेपानी, सरसफाइ र स्वच्छता अधिकार परियोजनाले पछाडि पारिएका समुदायको सशक्तिकरणका लागि गरिएका प्रयास, सिकेका पाठ र अनुभवको आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको एक दिने गोष्ठीमा वाटर एडका कार्यक्रम प्रबन्धक सर्वज्ञ श्रेष्ठले स्यालो ट्यूबेलबाट पानी पिइरहेका समुदायमा डिप बोरिङ मार्फत सुरक्षित खानेपानी उपलब्ध गराएको बताउनुभयो ।
परियोजनाले १० हजार ३७७ चर्पीबाट ५३ हजार ६४१ जना लाभान्वित भएको र ५३ हजार ३४१ जनालाई स्वच्छता व्यवहार लागु सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
कार्यक्रम सञ्चालित गाउँपालिकामा स्वच्छ खानेपानीको पहुँच ८८ प्रतिशत
खानेपानी, सरसफाइ र स्वच्छता अधिकार परियोजना सञ्चालित सिरहाको विभिन्न गाउँपालिका तथा नगरपालिकामा स्वच्छ खानेपानीमा पहुँच अभिबृद्धि भएको सर्वेक्षणले देखाएको छ ।
परियोजना शुरु हुनु भन्दा पहिले गरिएको बेसलाइन सर्वेले ४० प्रतिशत नागरिकको मात्र स्वच्छ खानेपानीको पहुँच रहेको देखाएको थियो । यस्तै ७० प्रतिशत नागरिकले शुद्धिकरण नगरी पानी पिउने गरेकोमा अहिले ८५ प्रतिशत नागरिकले पानी शुद्धिकरण गरेर मात्र पिउन थालेको वाटर एड नेपालले गरेको बार्षिक कार्यक्रम अनुगमन सर्वेक्षणले २०१८ ले देखाएको छ ।
यस्तै कार्यक्रम शुरु हुनु अघि ४२.५ प्रतिशतमा सीमित रहेको सुधारिएको सरसफाइको पहुँच अहिले ८५ प्रतिशत पुगेको सर्वेक्षणले देखाएको छ । बेसलाइन सर्वेबाट ५८.३ प्रतिशत घरमा हात धुने स्थानको उपलब्धता भएकोमा अहिले ७१ प्रतिशत घरमा हात धुने स्थानको उपलब्धता रहेको पाइएको छ ।
वाटर एड नेपालले सन् २०१५ अप्रिलदेखि सन् २०१८ मार्च सम्म दलित महिला संघ (फेडो), खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन), नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र शहरी वातावरण व्यवस्थापन समाज (यूम्स) को साझेदारीमा अधिकारमा आधारित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी परियोजना सन्चालन गरेको थियो ।
कुन संस्थाले कहाँ ?
दलित महिला संघ (फेडो) ले साबिकको करजनहा, बडहरामाल, गौताडी, चन्द्रअयोध्यापुर
यस्तै सिरहा नगरपालिकाको वडा नं. ३, ५, ६ र ९, मिर्चैया नगरपालिकाको ३ र १० तथा गोलबजार नगरपालिकाको ७ र ८ नम्बर वडामा पैरवीको काम गरेको थियो ।
यस्तै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासनले सिरहाको विभिन्न गाउँ विकास समिति र नगरपालिकाका ४८ सामुदायिक विद्यालयमा छात्रामैत्री तथा अपाङ्गमैत्री शौचालयको आवश्यकता लगायतको विषयमा पैरवी गरेको थियो ।
सिरहाको करजनहा गाविस, मिर्चैया नगरपालिकाको राधोपुर, सीतापुर, फुलवारिया, महेशपुर, रामनगर मिर्चैया र गोलबजारको चन्द्रलालपुरमा नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले सुरक्षित खानेपानी उपलब्धताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले भने सिरहा नगरपालिकाको वडा नं. ३, ५, ६ र ९ मा टोल विकास संस्थाहरु मार्फत खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी क्रियाकलाप सञ्चालन गरेको थियो ।
परियोजना मार्फत जिल्ला स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता एकीकृत रणनीति समेत तयार पारिएको छ ।


1143 पटक हेरिएको 

