धनगढी : कैलालीलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीलाई प्रदेश नं ७ को अन्तिम तथा देशको ५३ औं जिल्लाको रुपमा आइतबार खुला दिसामुक्त घोषणा गर्नुभएको हो । नयाँ संरचना अनुसार ७७ जिल्ला मध्ये यसअघि २३ वटा जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् ।
‘कैलाली जिल्लाको सामाजिक विकासको आधार, खुला दिसामुक्त क्षेत्र र स्वस्थ्यकर बानी व्यवहार’ भन्ने मूल नाराका साथ स्न २०१६ सम्ममा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य विसं २०६९ मा लिइएको भए पनि विभिन्न चुनौतीका कारण तोकिएको समय भन्दा ढिलो गरी खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
कैलालीमा २०६९ साल सम्ममा ४८.६६ प्रतिशत घरधुरी मात्र सरसफाइको पहुँचमा रहेकामा सरसफाइ र स्वच्छता सम्बन्धी गतिविधि सञ्चालन भएसँगै हाल शतप्रतिशतले शौचालय प्रयोग गरिरहेको र ९७ प्रतिशत जनसंख्या आधारभूतस्तरको खानेपानीको पहुँच पुगेको जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
समारोहमा जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषित गर्दै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले सरसफाइ अभियानलाई निरन्तरता दिन आवश्यक पहल गर्ने बताउनुभयो । मुख्यमन्त्री भट्टले भन्नुभयो, “घोषणा गरेर मात्र हुँदैन, सरसफाइ अभियानलाई निरन्तरता दिनु जरुरी छ ।”
जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले घोषणा समारोहमा सहभागीलाई सातबुँदे प्रतिबद्धता गराउनुभएको थियो ।


1010 पटक हेरिएको 

