विराटनगर : घरबाहिर नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार विराटनगरमा आयोजित कार्यक्रममा सहभागीले बताएका छन् ।
जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा विराटनगरमा आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती यौन दुव्र्यवहार, बालबालिकामा विभिन्न रोग तथा बाढी र विषालु किराको टोकाइका कारण अकालमा मृत्यु हुने गरेको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति, मोरङका अध्यक्ष नरेश पोखरेलले सबै स्थानीय निकायले गाउँ ठाउँमा सफाइका साथै महिला तथा युवती, बालबालिकाको हितका लागि प्रत्येक घरको अनुगमन गरी अभियानको रुपमा चर्पी निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।
खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मनोज घिमिरेले चर्पीको अपरिहार्यतामा सर्वसाधारण संवेदनशील हुनुपर्ने बताउँदै स्वच्छता र स्वास्थ्यका लागि आफ्नो बानीमा परिवर्तन गरी चर्पी निर्माण गरी प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा मोरङ जिल्ला खानेपानी कार्यालयका प्रमुख राजेन्द्र न्यौपाने तथा समाजशास्त्री कमल अधिकारीले खुला दिसाबाट समाज र स्वास्थ्यमा हुने बेफाइदा लगायतका विषयमा बोल्नुभएको थियो ।
सहभागी जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा अनुगमन गरी चर्पी निर्माणका लागि अभियानको सञ्चालन गर्न खुला दिसाबाट समाज, स्वास्थ्य क्षेत्रमा हुने क्षति, दुर्घटना आदि विषयमा सर्वसाधारणलाई जनचेतना जागृत गराउने बताउनुभयो ।
कार्यक्रममा मोरङ जिल्लाका १७ स्थानीय निकाय, महानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, स्वच्छता र खानेपानीसम्बन्धी स्थानीय संघका संघसंस्था प्रतिनिधि र सञ्चारकर्मी गरी १५० जनाको सहभागिता रहेको थियो ।
एक अध्ययन अनुसार खुला दिसाका कारण नेपालमा प्रत्येक घण्टा एकजना र प्रत्येक वर्ष १० हजार ५०० जना पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु हुने गरेको छ । मोरङ जिल्लामा छवटा स्थानीय निकाय लेटाङ, पथरी शनिश्चरे, उर्लाबारी, सुन्दर हरैँचा नगरपालिका र ग्रामथान र केराबारी गाउँपालिका खुला दिसामुक्त घोषणा भएका छन् ।
विराटनगर महानगरपालिकामा ४७ हजार ७८९ घरधुरी रहेकामा ५५० वटा घरमा अहिलेसम्म चर्पी निर्माण भएको छैन । नेपालमा पहिलो खुला दिसामुक्त जिल्ला कास्की रहेको छ ।


672 पटक हेरिएको 

