अछाम १ चैत्र । अछामको कमलबजार नगरपालिका ४ घेगढका बासिन्दाले खानेपानीमा सुशासनको सफल अभ्यास मार्फत दीगो उपयोगको नमुना देखाएका छन् । कालीखोला मुहानबाट ल्याएको पानीलाई १० वटा सार्वजनिक धारा मार्फत समानुपातिक बाँडफाँट गरेका घेगढका बासिन्दाले हरेक धारामा महिला सम्भार कार्यकर्ताको व्यवस्था गरी खानेपानीको सानो समस्या उपभोक्ताले नै हल गर्ने व्यवस्था मिलाएका छन् ।
पानी ल्याउन १० मिनेट भन्दा बढी समय नलाग्ने गरी हरेक धाराबाट ४ देखि ५ घरले पानी पिउन मिल्ने व्यवस्था गरिएको छ । खानेपानी योजनाको तर्जुमा गर्दा देखि नै योजनाबद्ध तरिकाले काम शुरु गरेका उनीहरुले योजना सम्पन्न भएपछि सुशासनका विधिहरु अपनाउन थालेका छन् ।
समान सहभागिताको सुनिश्चितता
सार्वजनिक महत्वको काम गर्दा होस् वा निर्णय गर्दा, सरोकारवाला सबैको सहभागिता हुन आवश्यक छ । घेगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सबैको सहभागिता सुनिश्चितता गरिएको छ । धारा राख्ने ठाउँको छनौट गर्दा नै महिलाहरुको सहभागितामा छनौट गरिएको, खानेपानीको कुलो खन्न, महसुल निर्धारण गर्न र अरु निर्णयहरु गर्दा पनि जनजाति, दलित, महिला सबैको सहभागितामा सामूहिक निर्णय गरिएको समितिका अध्यक्ष दलबहादुर रावतले बताउनुभयो ।
निर्णय प्रक्रियामा सरोकारवाला सबैलाई सहभागी गराएपछि गुनासो कम आउने र सन्तुष्टि बढी भएको अध्यक्ष रावतले बताउनुभयो । उहाँका अनुसार यसले समिति माथि गरिने अनावश्यक शंकाको पनि निवारण भएको छ ।
पारदर्शिताका लागि यस्तो विधि
घेगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पारदर्शिता लागि विभिन्न विधि, प्रक्रिया र साधनको उपयोग गरेको छ । संस्थाले आम्दानी तथा खर्चको विवरण व्यवस्थित तरिकाले राखेको, शुरुदेखि अहिलेसम्मका बैठकका निर्णयहरु जतनका साथ राखेको, बैंकिङ प्रणालीबाट आर्थिक कारोबार हुने गरेको, कर्जा लगानीका बारेमा समितिका सदस्य तथा उपभोक्तालाई समेत जानकारी गराएको समितिका सचिव इन्द्र रावतले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेला बेलामा उपभोक्ताहरुलाई समितिको वित्तिय अवस्थाबारे जानकारी गराउने, बार्षिक रुपमा लेखापरीक्षण तथा सामाजिक परीक्षण भईरहेको र बर्षको एकपटक सार्वजनिक सुनुवाई समेत गर्ने गरिएको छ । हरेक महिनाको १३ गते नियमित बैठक र आवश्यक भएको खण्डमा जत्तिबेला पनि आकस्मिक बैठक बसेर निर्णय गरेको उहाँले बताउनुभयो । कम उपभोक्ता, गुनासा पनि कम र समितिले दिने सेवा सुविधाका बारेमा सबै उपभोक्ता जानकार रहेकाले नागरिक वडा पत्र भने नराखिएको समितिका पदाधिकारीले बताए ।
यसरी जवाफदेहिता वहन गर्छ, घेगढले
खानेपानी तथा सरसफाई उपभोक्ता मार्फत आएका गुनासालाई जवाफदेहिता वहन गर्न कामको बाँडफाँट गरी जिम्मेवारी दिइएको छ । धाराबाट पानी चुहिने, टुटी विग्रिने सम्मको मर्मत सम्भारका लागि हरेक धारामा महिला धारा सम्भार कार्यकर्ता र पानीको रेखदेख र समानुपातिक वितरणका लागि मर्मत सम्भार कार्यकर्ताको व्यवस्था गरिएको सचिव इन्द्र रावतले बताउनुभयो ।
समितिकै पदाधिकारीबाट अनुगमन समिति गठन गरी समय समयमा खानेपानीको संरचनाको अनुगमन समेत गरिरहेको उहाँले बताउनुभयो ।
यस्तो छ, संगठनात्मक संरचना र चुन्ने विधि
घेगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा महिला सहभागिता उल्लेखनिय रहेको छ । ११ सदस्यीय समितिमा उपाध्यक्ष र कोषाध्यक्ष सहित ८ जना महिला र बाँकी ३ जना मात्र पुरुष छन् । हरेक तीन बर्षमा नेतृत्व परिवर्तन गर्ने र अहिलेसम्म पनि लोकतान्त्रिक विधिबाटै चयन हुदै आएको समितिका पूर्व सचिव कर्ण सिं रावतले बताउनुभयो ।
सुशासनको परिणाम
घेगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अपनाएको सुशासनको सफल अभ्यासले राम्रा परिणामहरु दिएको छ । जसले खानेपानीको दीगो उपयोगका लागि सघाउने समितिका पदाधिकारीहरु बताउँछन् ।
समितिका सचिव इन्द्र रावत भन्नुहुन्छ ‘हाम्रो कामबाट उपभोक्ता सन्तुष्ट छन्, कर्मचारी पनि सन्तुष्ट नै भएका छन् । आर्थिक तथा भौतिक रुपमा पनि हामी सम्पन्न हुदै गएका छौं, सबैले आफ्नो दायित्व बुझेका छन् र हामी अल्पकालीन तथा दीर्घकालीन योजना बनाउन पनि सफल भएका छौं ।’
खानेपानीमा भैपरी आउने समस्या समाधानका लागि समितिले मर्मत सम्भार कोष बनाएको छ । हरेक घरले उठाउने मासिक ५० रुपैयाँ मध्ये ४० रुपैयाँ मर्मत सम्भार कार्यकर्ताको पारिश्रमिकमा खर्च हुन्छ ।
बाँकी १० रुपैयाँ मर्मत सम्भार कोषमा जम्मा गरिन्छ । घेगढ खानेपानी योजनाबाट ४३ घरले खानेपानी सेवा उपभोग गर्दै आएका छन् ।