अब पूर्ण सरसफाइ अभियानले पनि खुला दिसामुक्त अभियानले जस्तै तीब्रता पाउने

सहायक पुस्तिका प्रकाशन गर्न ८ सदस्यीय कार्यदल

भक्तपुर : खुला दिसामुक्त अभियानमा मात्र बढी ध्यान केन्द्रित गरेको सरकारले अब पूर्ण सरसफाइ अभियानलाई पनि त्यत्तिकै तीब्रता दिने भएको छ । विहीबार राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र भक्तपुरमा भएको पूर्ण सरसफाइ सम्बन्धी कार्यशालामा खुला दिसामुक्त अभियानलाई भन्दा पूर्ण सरसफाइ अभियानलाई कम प्राथमिकता दिएको महसुस गर्दै अब पूर्ण सरसफाइलाई पनि खुला दिसामुक्त अभियानलाई जस्तै प्राथमिकता दिने निष्कर्षमा पुगेको हो ।


खानेपानी मन्त्रालय तथा खानेपानी तथा ढल निकास विभागका अधिकारीहरुले पूर्ण सरसफाइ अभियान कम प्राथमिकतामा परेको स्वीकार्दै आगामी आर्थिक बर्षदेखि खुला दिसामुक्त अवस्था हासिल गरेपछि पूर्ण सरसफाइ केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

छलफलका क्रममा जिल्ला, नगरपालिका, गाउँपालिका तह र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र केही विकास साझेदारले समेत पुरानै सूचक र आफ्नै तरिकाले काम गरिरहनुमा पूर्ण सरसफाइ मागदर्शनबारे छलफल, जानकारी तथा पैरवीको कमी भएको कुरा उठेको थियो । पूर्ण सरसफाइ मार्गदर्शन २०७३ एक बर्ष अघि नै मन्त्रालयले जारी गरिसकेको छ ।

कार्यशाला पछि भविश्यमा कमीकमजोरी सच्याउँदै अगाडि बढ्न सरोकारवाला एकमत भएका छन् ।

सहायक पुस्तिका प्रकाशन गर्न ८ सदस्यीय कार्यदल

पूर्ण सरसफाइ मार्गदर्शनमा दिगो विकास लक्ष्य, दिसाजन्य लेदो व्यवस्थापन लगायतका विषयलाई समावेश गरी सहायक पुस्तिका प्रकाशन गर्ने भएको छ ।

कार्यशालाले पूर्ण सरसफाइको सहायक पुस्तिका आवश्यक रहेको ठहर गर्दै वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा UNICEF, WHO, GSF, SNV, RWSSP WN (II) का विपीन पौडेल र समाजशास्त्री कमल अधिकारी सदस्य रहनुभएको छ ।

अब अन्तिम झट्काको खाँचो : महानिर्देशक भट्ट


खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले खुलादिसामुक्त अभियानको उपलब्धी ९७ प्रतिशत पार गरिसकेको र अब खुला दिसामुक्त राष्ट्र घोषणाका लागि अन्तिम झट्का आवश्यक रहेको बताउनुभयो । उहाँले खुलादिसामुक्त अभियानमा बढी ध्यान दिनुपर्ने भएकाले पूर्ण सरसफाइ अभियान विभागको कम प्राथमिकतामा परेको बताउनुभयो । ‘पूर्ण सरसफाइ निर्देशिका बनाउँदा अधिकारको बाँडफाँट, तहगत सरकारको भूमिकाका विषयमा हेर्न नसकिएकै हो, दिगो विकास लक्ष्यको बारेमा पनि राम्ररी हेर्न सकेका थिएनौं’ उहाँले भन्नुभयो ।

कार्यशालामा अहिलेसम्मको सरसफाइको अवस्था बारे वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा ले प्रस्तुत गर्नुभएको थियो । यस्तै विश्व स्वास्थ्य संगठनका डा. सुदनराज पन्थी, एसएनभीका नदिया ख्वाजा, युनिसेफका सिद्धि श्रेष्ठ, RWSSP WN (II) का चुढामणि जोशी, युएन हेभिटाटका मदन मल्ल, वाटर एडका कविर राजभण्डारी, जाइकाका विद्या पोख्रेल, एन्फोका विपीन डंगोल, किर्डाकका नविन कुमार शाही, सरसफाइ विद नमस्तेलाल श्रेष्ठ, जिएसएफकी सुधा श्रेष्ठ लगायतले प्रस्तुतीकरण गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार