गौरीगञ्ज (झापा) : पछिल्लो एक वर्षमा करिब पाँच हजार चर्पी बनाउँदै गौरीगञ्ज गाउँपालिका खुल्ला दिसामुक्त घोषणाको चरणमा पुगेको छ । आषाढ ३ गते आइतबार खुल्ला दिसामुक्त एवम् पूर्ण खोप सुनिश्चित घोषणा गर्ने पूर्व सन्ध्यामा गौरीगञ्ज गाउँपालिकाका खजुरगाछी, गौरीगञ्ज र कोरोबारीमा दीपावली गरिएको छ ।

गौरीगञ्ज बजारमा गरिएको दीपावलीमा गाउँपालिकाका अध्यक्ष बाबुराम श्रेष्ठ लगायत वडाध्यक्ष एवम् सदस्यहरु, सरसफाइ अभियानकर्ता, बजारवासीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिकाको प्रतिवद्धता, सहयोगी निकायहरुको साझेदारी र प्रत्येक घरधुरीको सहयोगका कारण गौरीगञ्ज गाउँपालिकाले सुखद इतिहास निर्माण गर्न सफल भएको बताउनुभयो । “सामुहिक प्रयास र प्रतिवद्धताका कारण हामीले खुल्ला दिसामुक्त र पूर्ण खोप सुनिश्चित गाउँपालिका बनाउन सफल भएका छौं”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अब पूर्ण सरसफाइ कार्ययोजना तयार गरी त्यसलाई समेत अभियानकै रुपमा अघि बढाउनुपर्छ, र पहिलो पूर्ण सरसफाइउन्मुख गाउँपालिका बन्नुपर्छ ।”
स्वास्थ्य, शिक्षा, आयआर्जन र सशक्तीकरणले नै समुन्नति ल्याउने भन्दै सामाजिक रुपान्तरणका लागि दुबै घोषणाहरु कोसेढुंगा सावित हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडा नं. ३ का अध्यक्ष मखना महतोले गाउँपालिका र वडाले खुल्लामा दिसा गर्नेकार्यलाई पूर्ण रुपमा निरुत्साहित गर्नका लागि खुल्लामा दिसा गर्ने कार्यलाई सामाजिक अपराधको रुपमा लिदै कानुनी कारवाहीको दायरामा ल्याउने जानकारी दिनुभयो ।
सरसफाइ अभियानकर्ता अमरकुमार रायले सामाजिक राजनीतिक अगुवाको नेतृत्व र समुदायको साथका कारण गौरीगञ्ज खुल्ला दिसामुक्त अवस्थामा पुगेको बताउनुभयो । दीपावली गर्नुअघि गाउँपालिका र वडा कार्यालय क्षेत्रमा सरसफाइ गरिएको थियो ।
धेरै चर्पी बनाउनेमा गौरीगञ्ज जिल्लामै दोस्रो
झापा जिल्लामा खुल्ला दिसामुक्त अभियान थालनी भएको पछिल्लो एक वर्षमा सबैभन्दा धेरै चर्पी बनाउनेमा गौरीगञ्ज दोस्रो बनेको छ । जिल्लाको तथ्यांक अनुसार गौरीगञ्ज गाउँपालिका क्षेत्रभित्र एक वर्षको अवधिमा ४ हजार ८ सय ६८ चर्पी निर्माण भएका छन् । पछिल्लो ६ महिनाकोमात्र तथ्यांकलाई आधार मान्ने हो भने गौरीगञ्ज गाउँपालिका झापा जिल्लामा नै पहिलो स्थानमा आउँछ । यसमध्ये पनि सबैभन्दा बढी गौरीगञ्ज गाउँपालिकामा गाभिएको साविक गौरीगञ्ज गाविसमा १ हजार ७ सय ५१ नयाँ चर्पी निर्माण गरिएको छ ।

यस अवधिमा सबैभन्दा बढी चर्पी निर्माण गर्ने कचनकवल गाउँपालिका बनेको छ, जहाँ यस अवधिमा ५ हजार ४ सय ३७ नयाँ चर्पी बनेका छन् । यसैगरी भर्खरैमात्र खुल्ला दिसामुक्त घोषणा भएको बाह्रदशीमा २ हजार ५ सय १४ नयाँ चर्पी बनेका छन् भने गौरीगञ्जको छिमेकी स्थानीय तह गौरादह नगरपालिकामा ४ हजार २ सय ६७ नयाँ चर्पी बनिसकेका छन् ।
यसैगरी, झापा गाउँपालिकामा पछिल्लो एक वर्षको अवधिमा ३ हजार १ सय २२ नयाँ चर्पी निर्माण भएका छन् भने मेचीनगरमा ३ हजार १ सय ८४ नयाँ चर्पी बनेका छन् ।
साविक गाविसलाई हेर्ने हो भने सबैभन्दा बढी चर्पी बाहुनडाँगीमा २ हजार ५४ बनेका छन् भने दोस्रोमा गौरीगञ्ज पर्दछ, जहाँ १ हजार ७ सय ५१ नयाँ चर्पी बनेका छन् ।
भद्रपुर, मेचीनगर र दमक सबैभन्दा पछाडि
संख्यात्मक रुपमा झापा जिल्लामा विकट, विपन्न र पछाडि पारिएको समुदायको घना बसोबास रहेका क्षेत्रभन्दा पनि विकसित नगरहरु धेरै चर्पी बनाउनुपर्ने सूचीको अगाडि छन् ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अद्यावधिक गरेको तथ्यांक अनुसार मेचीनगरमा ५ सय ५५ घरमा सुरक्षित चर्पीको पहुँच पुग्न बाँकी रहेको छ भने नेपालकै पुरानो नगरपालिकामध्येको एक एवम् झापा जिल्लाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकामा ५ सय ३४ चर्पी बन्न बाँकी रहेको छ ।
प्रधानमन्त्रीको गृहनगर दमकका सबै वडा खुल्ला दिसामुक्त घोषणा गरिए पनि नगरपालिकामा ठूलो संख्यामा चर्पी बनाउन बाँकी रहेको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन प्रसारण भएपछि दमक नगरपालिकाले अद्यावधिक गरेको तथ्यांक अनुसार ४ सय ७२ घरधुरीमा सुरक्षित चर्पी बनाउन बाँकी रहेको छ । यसअघि दमक नगरपालिकाले जिल्ला तहमा हुने कार्यक्रमहरुमा सबै घरधुरीमा चर्पी बनिसकेको दावी गर्दै आएको थियो ।
गाउँपालिकातर्फ झापा गाउँपालिकामा अझै ४ सय ५६ चर्पी बनाउन बाँकी रहेको छ । झापाभित्र पनि साविकको शरणामती र कुमरखोदमा चर्पी बनाउन बाँकी रहेको छ ।
१ लाख ८२ हजार २ सय १५ घरधुरी रहेको झापामा एक साताअघि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अद्यावधिक गरेको तथ्यांक अनुसार १ लाख ७९ हजार ८ सय २२ घरधुरीमा सुरक्षित चर्पीको पहुँच पुगिसकेको छ भने २ हजार ३ सय ९३ घरधुरीमा सुरक्षित चर्पीको निर्माण हुन बाँकी छ ।


1251 पटक हेरिएको 

