बढैयातालले सबै वडाको सरसफाइ कोषमा बजेट दिने

 2092 पटक हेरिएको

बर्दिया : बढैयाताल गाउँपालिकाले पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न गाउँपालिकाको ९ वटै वडाको छुट्टाछुट्टै खाता खोली रकम थप गर्ने भएको छ । GSF कार्यक्रम र तत्कालीन गाउँविकास समितिले सरसफाइ समपूरक कोष स्थापना गरी खुला दिसामुक्त अभियान सञ्चालन गर्दा अभियान सञ्चालन गर्न सजिलो भएकाले पूर्ण सरसफाइ अभियानमा पनि सोही अवधारणा लागु गर्न लागेको हो ।

खुल्ला दिसामुक्त अभियानमा GSF कार्यक्रमबाट सरसफाइ समपुरक कोष (Sanitation Matching Fund) स्थापना गर्न V-WASH-CC लाई १ लाख ६८ हजार ४ सय रुपैयाँ र गाउँ विकास समितिले पनि त्यत्ति नै रकम जम्मा गरी सरसफाइ समपुरक कोष बनाएको थियो ।

पूर्ण सरसफाइ अभियानमा वडागत रुपमा सरसफाइ कोष सञ्चालन नहुँदा असहज भएको महसुस गरी गाउँपालिकाले पूर्ण सरसफाइ अभियानका लागि पनि कोष स्थापना गर्न लागेको हो ।

“पहिलेको सरसफाइ समपुरक खाताको रकम गाउँपालिका बनेपछि यतै आएको छ, जे जति छ हामी अब त्यसमा रकम थपेर ९ वटै वडाको छुट्टाछुट्टै खाता खोली दिन्छौ र पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न सजिलो बनाउँछौं’’ आफ्नै कार्यकक्षमा WSSCC, UN-HABITAT, GSF, IDS नेपालका प्रतिनिधिहरुसँगको छलफलमा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

उहाँले चालु आर्थिक बर्षमा ४० लाख वजेट सरसफाइ शीर्षकमा बिनियोजन गरेको, ती मध्ये ३० लाख रकम ट्रीपर किन्दा खर्च भएको, डम्पिंग साइड छनोट गरिएको र अब जनसमुदायमा चेतना जगाएर नकुहिने फोहोर जति डम्पिंग साइड पठाउने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो ।

WSSCC sfAsia Reginal Unit का कार्यक्रम विश्लेषक आयल्सा जोन्स (Ailsa Jones) को महिला लक्षित विकास सम्बन्धी जिज्ञासा मेटाउदै गाउँपालिका उपाध्यक्ष दिपा गौतमले पूर्ण सरसफाइ कार्यक्रमको सह नेतृत्व लिएको र कार्यदलको संयोजकको भूमिका निभाएको बताउनुभयो । उहाँले यो वर्ष २ हजार महिलालाई शिक्षा, जनस्वास्थ्य, सरसफाइ सम्बन्धी जनचेतना दिएको र बुटिक सम्बन्धी तालिम पनि भैरहेको बताउनुभयो । GSF कार्यक्रमबाट कपडाको प्याड बनाउने तालिम सञ्चालन भएको थियो, त्यसबाट प्रभावित भएर महिनावारी स्वच्छता तथा कपडाको प्याड बनाउने तालिमको लागि बजेट विनियोजन गरिएको छ’ उहाँले प्रष्ट पार्नुभयो ।

नयाँ संघीय संरचनामा समन्वय सम्बन्धमा स्पस्ट पार्दै गाउँपालिका अध्यक्षले भन्नुभयो ‘केन्द्रीय सरकारबाट अनुमति लिएपछि सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा सम्झौता गरी कार्यक्रम अगाडि बढाउन मिल्छ, प्रदेश सरकारलाई जानकारी गराउन ुराम्रै हुन्छ ।’

आगामी बर्षको लागि सरसफाईमा के कति बजेट बिनियोजन गर्दै हुनुहुन्छ भन्ने सवालको जवाफ दिदै गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले भन्नुभयो “२/३ लाख वजेट छुट्याउन जहिले पनि सकिन्छ तर त्यो भन्दा बढी रकमका लागि विकास साझेदार संस्थाले कति बजेटको कार्यक्रम गर्ने हो, गाउँपालिकाले कति जति छुट्याउनु पर्ने हो, अबको १५ दिन भित्र मस्यौदा भए पनि अग्रिम थाहा भयो भने हामी सोही अनुसार आगामी बर्षको लागि रकम बिनियोजन गर्न सक्छौ ।’

 

शान्तिपुरमा पूर्ण सरसफाई शुरुवाती दिनका चुनौती

बढैयाताल गाउँपालिका कार्यालयमा प्रमुख, उप प्रमुख र अन्यसँग भेटघाट गर्नु अघि बढैयाताल गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, WSSCC, UN-Habitat, GSF, IDS Nepal, MUYUS बर्दिया, वडा नं. १ र २ का वडा अध्यक्ष लगायतको समुहबाट बढैयाताल वडा नं. १ साविक जमुनी गाबिस अन्तर्गत पर्ने शान्तिपुर पूर्ण सरसफाइ नमुना टोल र जगदम्बिका माध्यमिक विद्यालयको भ्रमण गरिएको थियो ।

हाल ४९ घरधुरी र एक विद्यालय समेटिएको पूर्ण सरसफाइ नमुना टोलमा २०७४ भदौ १२ गते समिति, उप समिति गठन गरी पूर्ण सरसफाइमा नमुना समुदाय बन्ने प्रयासको थालनी भएको थियो ।

पूर्ण सरसफाइ यात्रामा के कस्ता समस्या र चुनौतीको सामना गर्नु भएको थियो भन्ने WSSCC का Ailsa Jones को जिज्ञासा मेटाउन समुदायका महिला पुरुषले आफ्ना अनुभव सुनाउनु भएको थियो ।

पहिले बाटो तर्फ आँगन छेउमा गाईवस्तु बान्ने चलन थियो, जसको कारण मलमुत्रको गन्ध आउँथ्यो । गोठलाई घर पछाडि सार्न १५ २० हजार लाग्छ । त्यसैले गर्दा पनि अझै केही घरको अगाडि नै गोठ छ । सबैको आफ्नो बाँस छैन, पैसा उठाएर किन्नु पर्दा पैसा उठाउँदा नि समय लाग्यो, गारो भयो ।

ट्युबवेलमा प्लेट फर्म बनाउन, फोहोर मलाई बनाउन, भाँडा माझ्ने प्लेट फर्म बनाउन सबै सँग पैसा थिएन । समुह बचतको पैसा २ रुपैया मासिक ब्याजमा लिएर पनि बनाउने काम गरियो ।

“सबै भन्दा गार्हो काम त मानिसको आनीबानी परिवर्तन गर्नु रहेछ, “एक थानीय जेष्ठ नागरिकले भन्नु भयो “चर्पी छ, तर सफा गर्ने सामग्री किनेर सफा गर्न बानी थिएन, घरमा साबुन पानी हँुदा पनि खानु अघि साबुन पानीले हात धुने बानी थिएन ।

शुरुवातमा मानिसहरुलाई संगठित पार्न गार्हो भएको थियो “स्थानीय लाल बहादुर सुनारले भन्नु भयो “हामी संग भएका ज्ञान र सीपको प्रयोग गर्न पनि नजानेको अवस्थामा हामी रहेछौ IDS Nepal /UN-Habitat ले हामीलाई जगायो, अनि हामी निरन्तर सरसफाइको काम गर्न थाल्यौ र आज यो अवस्था सम्म आइपुगेका छौ ।

“अरु पनि समस्या छन् चर्पी सबैजसोको १ खाल्डे छ , भरिंदा सफा गर्ने मान्छे खोज्छौ, एउटा रिंग बराबर ३ सय तिर्नु पर्छ । “सरसफाइ समितिकी अध्यक्ष मनु बिसीले बताउनुभयो । यसरी सफा गर्नका लागि लगानी गरिरहनु भन्दा अर्को खाडल बनाउन रिंग स्ल्याबमा लगानी गर्नुपर्ने सुझाब जिल्ला संयोजक बिष्णु दवाडीले दिनुभयो ।

शान्तिपुरमा पूर्ण सरसफाईले नयाँ आयाम खोल्यो

सरसफाइ गर्दा आफ्नै गाउँघर बाटोघाटो सफा स्वच्छ हुने, सुन्दर हुने, इज्जत बढ्ने, नाम फैलने, रोग लाग्न कमी भई खुसियाली पूर्वक जिउन पाइने जस्ता लाभहरु मिल्ने ठानेर पूर्ण सरसफाइमा लागेका शान्तिपुर बासिन्दाले गर्मीमा ट्युबवेलको पानी सुक्ने वा निकै कम आउने, चलाउन गार्हो हुने जस्ता समस्या भोग्नु परेको थाहा पाए पछि खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयबाट ओभरहेड टंकी खानेपानी सिस्टमको योजना संचालन गर्ने गरी १ महिना पहिले सर्वेक्षण सकिएको छ ।

 

“यसका अतिरिक्त शान्तिपुर गुनको लागि ७० लाख बजेट बिनियोजन भै जगदम्बिका विद्यालयमा कम्पाउण्ड निर्माण, विद्यालय प्रोफाइल तयार पार्ने, खेल मंच बनाउने, बाटो निर्माण, शिक्षकको तलब, किताब, ह्याम पाइप लगायतमा खर्च भै रहेको छ “गाउँपालिका अध्यक्षले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो “खानेपानी कार्यालयबाट सर्भे त भयो, तर समय लाग्छ, यो गाउँको तत्कालीन खानेपानीको समस्यालाई हल गर्न गाउँपालिकाबाट ३ वटा बोरिंग जडान गरी मोटरबाट पानी तानेर टंकीमा जम्मा गरी घर घरमा धारा राखेर पानी पिउन तयार हुनुहुन्छ, पाइपका लागि आफै पैसा उठाउनु हुन्छ, मोटरको बिजुली खर्च समुदायले नै बेहोर्नुपर्छ, तयार हुनुहुन्छ भने आवश्यक प्रक्रिया पुर्याएर माग गर्नुस ।’’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार