खुल्ला दिसामुक्त घोषणा, अर्जुनधाराको एक वर्षको मुख्य उपलब्धी

🔗
2
Shares

अर्जुनधारा (झापा : अर्जुनधारा नगरपालिकाले खानेपानी र सरसफाइलाई विकासको एक मुख्य सूचकको रुपमा लिदै वार्षिक प्रगतिमा अग्रता दिएको छ ।
“अर्जुनधारालाई सफा नगर बनाउने कामको पहिलो चरण पूरा भएको छ”, जनप्रतिनिधि निर्वाचित भएपछि एक वर्षको अवधिमा गरेका कार्यहरुको प्रगति सार्वजनिक गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले भन्नुभयो, “नगरपालिकालाई खुलला दिसामुक्त घोषणा गरेका छौं र अब पूर्ण सरसफाइको बाटोमा लाग्ने छौं ।”

शनिश्चरे सामुदायिक भवनमा आयोजना गरेको नागरिक ०७४/०७५ मा सम्पन्न भएका योजना तथा कार्यक्रम र सेवा प्रवाह सम्बन्धी आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा कार्य प्रगति सार्वजनिक गर्न पत्रकार सम्मेलन गरी प्रमुख रानाले समृद्धिका लागि नागरिकको सहभागिता आवश्यक रहने बताउनुभयो । “नागरिकको सहभागिता रहेकै कारण खुल्ला दिसामुक्त घोषणा गर्न सकिएको हो । अन्य कार्यमा समेत यसैगरी सहभागिता आवश्यक छ ।”

नगरपालिकाको अर्को मुख्य उपलब्धीको रुपमा खानेपानीबाट पँहुच पु-याउन नागरिकहरुलाई चालु आर्थिक वर्षमा ५ किलोमिटर खानेपानी विस्तार गरिएको नगरपालिकाले जनाएको छ । “माटेवासीहरु पिउने पानीको सुविधाबाट वञ्चित थिए”, नगर प्रमुख रानाले भन्नुभयो, “उनीहरुलाई अहिले सुरक्षित पिउने पानी उपलब्ध गराइएको छ ।”

नगरलाई वातावरणमैत्री र बालमैत्री बनाउन आउँदो आर्थिक वर्षमा विशेष योजना सञ्चालन गरिने समेत नगर प्रमुख रानाले जानकारी दिनुभयो । “पूर्वको गहनाको रुपमा रहेको अर्जुनधारालाई सफा, स्वच्छ, वातावरणमैत्री र आकर्षक नगर बनाउनमा हाम्रो विशेष ध्यान केन्द्रित हुनेछ”, उहाँले भन्नुभयो, “यसका लागि आवश्यक सबै नीतिगत निर्णय गरेर अघि बढ्छौं ।”

अर्जुनधाराको ठूलो हिस्सा अहिले पनि कृषिमा निर्भर रहेको उल्लेख गर्दै नगर प्रमुख रानाले वातावरणमैत्री प्रांगारिक खेती प्रणालीलाई प्रवद्र्धन गर्ने समेत बताउनुभयो । विषादी औषधी नभै विष हो भन्ने सन्देशलाई व्यापक रुपमा प्रचारप्रसार गरी रासायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गर्ने समेत उहाँले उल्लेख गर्नुभयो ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा अर्जुनधारा नगरपालिकामा खुल्ला दिसामुक्त अभियान सञ्चालन गरिएको थियो । सो क्रममा चर्पी बन्न बाँकी रहेका करिब ९ सय घरधुरीमा चर्पी निर्माण गरी जेठ २७ गते नगरपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार