काठमाडौ : काठमाडौँ महानगरपालिकाले पहिलो चरणअन्तर्गत विभिन्न दश स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । आगामी साउनदेखि ती स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने महानगरपालिकाले जनाएको छ ।
अघिल्लो वर्षमा नै शौचालय निर्माण गर्ने भने पनि आन्तरिक समस्याका कारण निर्माण गर्न नसकेकाले अब आगामी साउनदेखि सार्वजनिक शौचालयको निर्माण गर्ने कार्य अगाडि बढाउने कामपा निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “शुरुमा अत्यावश्यक दश स्थानमा सार्वजनिक शौचालय निर्माण गरिनेछ, एउटा शौचालयको निर्माण लागत रु दश लाख लाग्ने अनुमान छ ।”
एउटा शौचालय निर्माण गर्न कम्तीमा चार महिना लाग्नेछ । पहिलो चरणमा निर्माण हुने शौचालयको प्रभावकारिता र अन्य स्थानको आवश्यकता हेरी थप स्थानमा आवश्यक शौचालय निर्माण गर्ने योजना रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो चुनावी घोषणापत्रमा नै ‘क्लिन द सिटी’ र सार्वजनिक शौचालय निर्माणको काम पहिलो प्राथमिकतामा राखेको भएपनि हालसम्म उक्त कामले गति लिन सकेको छैन् ।
गत वर्ष नै सडक विभागले काठमाडौँका सडक आसपासका विभिन्न ४२ स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि कामपालाई अनुमति दिइसकेको छ । तर पानी समस्याका कारण सुन्धारा, रत्नपार्क लगायत स्थानमा भएका शौचालय समेत प्रयोगमा आउन सकेको छैन ।


1109 पटक हेरिएको 

