काठमाडौ : देशभरिका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुखहरुका लागि दिसाजन्य लेदो व्यवस्थापन र मानव मलमूत्र फोहोर व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाकाबारे जानकारी तथा छलफलका लागि कार्यशाला हुँदैछ ।
खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजना सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स नेपाल (सोफेन) को आयोजनामा प्रदेश नं. ६ का सबै नगरप्रमुखहरुका लागि यही असार १८ गते प्रदेश राजधानी सुर्खेतको बीरेन्द्रनगरमा हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सीता दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सात अन्तर्गतका सबै नगरपालिकाका प्रमुृखका लागि भने असार २० गते धनगढीमा कार्यशाला हुनेछ ।
यसअघि पहिलो चरणमा प्रदेश ३ का नगरप्रमुखहरुका लागि कार्यशाला सम्पन्न भइसकेको छ । यस्तै दोस्रो चरणमा प्रदेश १, तेस्रो चरणमा प्रदेश २, चौथो चरणमा प्रदेश ४ र पाँचौ चरणमा प्रदेश ५ का नगरप्रमुखहरुका लागि पनि कार्यशाला आयोजना भइसकेको छ ।
प्रदेश ६ मा हुन लागेको कार्यशाला छैटौं र धनगढीमा हुन लागेको सातौं चरणको कार्यशाला हो । नगर क्षेत्रमा दिसाजन्य लेदो व्यवस्थापन गर्ने काम चुनौतीपूर्ण बन्दै गईरहेकाले यसको प्राविधिक तथा नीतिगत विषयमा जानकारी गराई दिसाजन्य लेदो व्यवस्थापनका लागि नगरहरुलाई दायित्वबोध गराउन पनि कार्यशाला आयोजना गरिएको सोफेनले जनाएको छ ।