विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था अब तारा पद्धतिमा स्तरीकरण गरिने

काठमाडौं : देशभरका सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था अब तारा पद्धतिमा स्तरीकरण गरिने भएको छ । सबै विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुविधामा एक रूपता ल्याउन र सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरमा सुधार गर्न यस्तो व्यवस्था लागु गरेको हो । शिक्षा विभागले यसका लागि विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि, २०७४ जारी गरी कार्यान्वयनमा ल्याएको छ । कार्यविधिलाई शिक्षा विभागको २०७४ चैत्र २२ मा बसेको बैठकले स्वीकृत गरेको थियो ।

तारा पद्धति, विद्यालयमा विद्यमान खानेपानी र सरसफाइका सुविधा, स्वच्छता अभ्यासको अवस्था, संस्थागत सुदृढीकरण र दिगोपनासँग सम्बन्धित तोकिएको सूचकहरूको आधारमा विद्यालयले स्वमूल्याङ्कन गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसमा गाउँ वा नगरस्तरीय शिक्षा समितिले प्रमाणीकरण गरे अनुसार एक, दुई वा तीन तारामा वर्गीकरण गर्दै खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्धनलाई स्तरीकृत गर्दै लैजाने पद्धति हो ।

यस कार्यविधिलाई स्थानीय तहले संशोधन वा अनुमोदन गरी सम्वन्धित स्थानीय तहभित्रका सम्पूर्ण विद्यालयहरुमा लागू गराउने व्यवस्था गर्न सकिने विभागले जनाएको छ ।

विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बधी हुनुपर्ने मापदण्ड

विभागले जारी गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि, २०७४ ले विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको मापदण्ड निर्धारण गरेको छ । के के हुनुपर्छ त एउटा विद्यालयमा ?

सबै विद्यालयहरुमा पानी, शौचालय, वातावरणीय सरसफाइ हुनुपर्ने ।

हरियाली वातावरण, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन संस्थागत व्यवस्था र दिगोपना हुनुपर्ने ।

विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिताका आधार सहितको मापदण्ड हुनुपर्ने ।

कस्तो अवस्थालाई कति तारा ?

विद्यालयमा विद्यमान खानेपानी सरसफाइ एवम स्वच्छताको अवस्था हेरी तोकिएका मापदण्डको आधारमा विद्यालयलाई उत्कृष्ठ, मध्यम र सुधारोन्मुख गरी तीन वर्गमा वर्गीकरण गरिनेछ । तोकिएको सूचकहरूको आधारमा शैक्षिक सत्र सुरु भएको दुई महिना भित्र स्वमूल्याङ्कन गरी उत्कृष्ठ विद्यालयका लागि तीन तारा, मध्यम अवस्थाका लागि दुई तारा र सुधारोन्मुख अवस्थाका लागि एक तारा प्रदान गरिनेछ ।

सूचकहरु : 

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका मापदण्ड विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका उपलब्धतालाई मूल्याङ्कन गरी स्तरीकरण गर्न निम्न सूचकहरूको आधारमा तारा पद्धति बमोजिम वर्गीकरण गरिनेछ ।

एक तारा प्राप्त गर्ने आधारहरु

पानी : पिउन, हात धुन र सरसफाइ गर्नका लागि पानीको उपलब्धता भएको

शौचालय : छात्रा तथा छात्रहरूका लागि चुकुलसहितका अलग अलग शौचालय भएको

वातावरणीय सरसफाइ : ठोस फोहरलाई डस्टबिनमा सङ्कलन गरी समय समयमा बिसर्जन गर्ने गरिएको

सफा र हरियाली वातावरण : विद्यालय सेवाक्षेत्र खुला दिसा मुक्त घोषणा भएको

स्वच्छता सुविधा : पानी र साबुनसहितको हात धुने सुविधा भएका

स्वच्छता शिक्षा : सबै कक्षामा स्वच्छता शिक्षा अध्ययन, अध्यापन हुने गरेको पाँच कक्षाभन्दा माथि महिनावारी स्वच्छता व्यवस्थापन पठन पाठन गर्ने गरिएको

महिनावारी स्वच्छता व्यवस्थापन सुविधा : सेनिटरी प्याड व्यवस्थापनका लागि छात्रा शौचालयहरूमा ढकनसहितको डस्टबिन राखिएको

संस्थागत व्यवस्था र दिगोपना : बाल क्लब र विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भएको

विपत जोखिम व्यवस्थापन : शिक्षक तथा बालबालिकाहरूलाई विपत जोखिम न्यूनीकरण सम्बन्धमा क्षमता विकास गरिएको

अनुगमन तथा जवाफदेहिता : खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छताका लागि सम्पर्क शिक्षक (महिलालाई प्राथमिकता) को व्यवस्था गरिएको

 

दुई तारा प्राप्त गर्न आवश्यक सूचक

पानी : विद्यालयमा पिउनका लागि शुद्धीकरण गरिएको पानीको व्यवस्था भएको ।

शौचालय : बाल, लैङ्गिक , अपाङ्गता र वातावरण मैत्री युरिनल र पानीसहितको धारा भएको शौचालयको व्यवस्था

वातावरणीय सरसफाइ : ठोस फोहरहरूलाई सिसा वा धातुजन्य, नकुहिने र कुहिने गरी अलग अलग डस्टबिनमा सङ्कलन गरी कम्तिमा हप्तामा एक पटक बिसर्जन गर्ने गरिएको

सफा र हरियाली वातावरण : विद्यालय परिसरभित्र पूmलहरू रोपी बगँैचाको व्यवस्था भएको

स्वच्छता सुविधा : समूहमा साबुन पानीले हात धुने स्थायी सुविधासहित साबुन र पानीको नियमित व्यवस्था भएको

स्वच्छता शिक्षा : विद्यार्थीहरूको व्यावहारिक र जीवन उपयोगी स्वच्छता शिक्षामा सक्रिय सहभागिता हुने गरेको

महिनावारी स्वच्छता व्यवस्थापन सुविधा : आकस्मिक अवस्थाका लागि सहज सेनिटरी प्याडको व्यवस्था र प्रयोग गरिएका प्याडहरूको सुरक्षित बिसर्जन गर्ने गरिएको

संस्थागत व्यवस्था र दिगोपना : विद्यालय सुधार योजनामा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना समावेश भएको

विपत जोखिम व्यवस्थापन : खानेपानी, सरसफाइ तथा स्वच्छता समेतको विपत पूर्व तयारी र प्रतिकार्य योजना तयार गरिएको र जोखिम नक्साङ्कन तयार गरी सबैले देख्ने स्थानमा टाँगिएको

अनुगमन तथा जवाफदेहिता : खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको निगरानीमा दैनिक रूपमा शौचालयको सफाइ र साबुन पानीले हात धुने गरिएको

तीन ताराका लागि आवश्यक सूचक

पानी : सबै बालबालिकाहरुको पहुँच सहितको पिउन र सरसफाइका लागि सुरक्षित र पर्याप्त पानीकोउपलब्धता ( प्रति व्यक्ति दैनिक १२ लि.)

शौचालय : सुरक्षित स्थानमा बाल, लैङ्गिक, अपाङ्गता र वातावरण मैत्री (२५ छात्रा र ४० छात्रहरुको अनुपातमा) पर्याप्त पानीसहितको शौेचालयको सुविधासहित दिसा, पिसाबको सुरक्षित निकासको व्यवस्था मिलाइएको

वातावरणीय सरसफाइ : सामग्रीहरूको प्रयोग घटाउने, पुनःप्रयोग गर्ने र पुनःचक्रणको पद्धति लागूगरी फोहोरको व्यवस्थापन गरिएको

सफा र हरियाली वातावरण : विद्यालयभित्रको उपयुक्त खाली जमिनमा वृक्षरोपण र बगंैचारकरेसाबारीको विकास गरिएको

स्वच्छता सुविधा : समूहमा साबुन पानीले हात धुने स्थायी सुविधा (छात्रा ४० र छात्र ६० को अनुपातमा एक धारा) मा सबैको सहज पहुँच सहित प्रयोग भई नाली वा सोकपिट वा बगैचा वा करेसाबारीमा पानीको निकासको व्यवस्था गरिएको

स्वच्छता शिक्षा : स्वास्थ्य तथा वातावरण विषयमा विद्यार्थीहरूको व्यक्तिगत सरसफाइ र स्वच्छता व्यवहार (समूहमा हात धुने, व्यक्तिगत सरसफाइ र शौचालयको सरसफाइ गर्ने) का आधारमा अङ्क दिने पद्धतिको अवलम्बन गरिएको

महिनावारी स्वच्छता व्यवस्थापन सुविधा : छात्राहरूले पुन प्रयोग गर्ने सेनिटरी प्याड तयार गर्ने सीप सिकी वा स्वस्थकर प्याड प्रयोगमा ल्याएका र महिनावारी स्वच्छता सुविधाहरू सञ्चालनमा रहेका

संस्थागत व्यवस्था र दिगोपना : नियमित मर्मत सम्भारका लागि मर्मत सम्भार कोषको व्यवस्था, आवश्यक सीप र जगेडा औजारहरूको व्यवस्था भएको र नियमित रूपमा तालिका अनुसार शौचालय, धारा र हातधुने ठाउँको सरसफाइ गर्ने गरिएको

विपत जोखिम व्यवस्थापन : खानेपानी तथा सरसफाइका संरचनाहरू नेपाल सरकारको स्वीकृत मापदण्ड (विपद जोखिम न्यूनीकरण) अनुसार निर्माण भएको
अनुगमन तथा जवाफदेहिता : खानेपानी, सरसफाइ तथा स्वच्छता र महिनावारी स्वच्छता सम्पर्क शिक्षकको सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता कर्नर (सम्बन्धित पुस्तक, पत्रिका, पोष्टर, सूचना तथा जानकारीमूलक सामग्री र सेनिटरी प्याड) को स्थापना गरिएको


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार