सुनसरी जिल्ला खुला दिसामुक्त घोषणा हुँदै

प्रदेश नं. १ मा झापा, मोरङ, सोलुखुम्बु र भोजपुर मात्र घोषणा गर्न बाँकी

सुनसरी : सुनसरी जिल्लालाई यही असार १९ गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष गोपाल राजभण्डारीको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो ।

सुनसरीको १ लाख ४३ हजार ३ सय ४७ घरधुरी, विभिन्न संघसंस्था, सरकारी कार्यालय र सार्वजनिक स्थानमा समेत शौचालय निर्माण भएपछि सुनसरी खुलादिसामुक्त घोषणा हुन लागेको हो ।

बैठकले आगामी १९ गते इनरुवाको खेलमैदानमा हुने खुलादिसामुक्त घोषणा सभालाई सफल पार्न विभिन्न समिति एवं उपसमितिहरु समेत निर्माण गरिएको डिवाससीसीका सदस्य केदार कोइरालाले जानकारी दिनुभयो ।

सुनसरीलाई पूर्वाञ्चल क्षेत्रीय सरसफाइ तथा स्वच्छता समन्वय समिति (आरवाससीसीले) अनुमगन गरी सबै घरमा चर्पी निर्माण भई प्रयोगमा आएको प्रमाणीकरण गरिसकेको छ ।

युएन ह्याविट्याट जिएसएफको सहयोगमा सुनसरीमा दर्जन गैर सरकारी संस्था र स्थानीय तहको सक्रियतामा सञ्चालित सरसफाइ अभियानबाट सुनसरी खुला दिसामुक्त घोषणा हुने चरणमा पुगेको हो ।

खुला दिसामुक्त सुनसरी घोषणा सभामा जिल्लामा खुलादिसामुक्त अभियानमा अथक परिश्रम गर्नुहुने अभियन्ताहरुलाई सम्मान गर्ने भएको छ । अभियन्ताहरु तारा कार्की,सुजाता शाक्य, मुनु सिलवाल, ललिता लम्साल लगायतलाई सम्मान गरिने डिवाससीसी सुनसरीले जनाएको छ ।

सुनसरी खुला दिसामुक्त घोषणा भएपछि प्रदेश नं. १ मा झापा, मोरङ, सोलुखुम्बु र भोजपुर गरी ४ जिल्ला मात्र घोषणा गर्न बाँकी रहेनछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार