डोम समुदायमा ७ वटा चर्पी बनेपछि खुसीयाली

बारा : महिना दिन अघिसम्म कलैया उपमहानगरपालिका–४ को डोम समुदाय भरि एउटा चर्पी पनि थिएन । गाउँमा पुग्ने नेता, सरकारी तथा गैरसरकारी संस्थासँग उनीहरुको एउटै माग हुन्थ्यो, चर्पी चाहियो ।

चर्पीको आवश्यकता बारे बुझेका तर कमजोर आर्थिक अवस्थाका कारण बनाउन नसकेका डोम समुदायमा अहिले चर्पी बनेका छन् । वडा कार्यालयको ५ लाख लगानीमा गाउँमा ७ वटा चर्पी निर्माण गरिएको हो ।

२० घरका करिब १२० जना बस्दै आएका डोम समुदायले संयुक्त रुपमा चर्पी प्रयोग गर्न थालेका छन् । रामलाल मल्लिक भन्नुहुन्छ ‘घरघरै चर्पी नबनेपनि हाम्रो वर्षौंदेखिको आवश्यकता पूरा भएको महसुस भएको छ, हामी गाउँले सबै खुसी भएका छौं ।’

कलैया उपमहानगरपालिका – वडा नं. ४ का अध्यक्ष मिश्री सहनीले आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले समेत पिछडिएका विपन्न समुदाय आफैले चर्पी बनाउन नसक्दा खुला ठाउँमा दिसापिसाब गर्ने भएकाले वडाको लगानीमा सामूहिक शौचालय बनाइदिएको बताउनुभयो ।

खानेपानीको समस्या पनि उस्तै

डोम समुदायमा सरसफाइको मात्र होइन, खानेपानीको अवस्था पनि नाजुक छ । न पानीको निकास छ, न सरसफाइ । जमेकै पानीमा गाडिएको ट्यूवेलबाट पानी तानेर काम चलाईरहेका छन् । रामलाल मल्लिक भन्नुहुन्छ ‘पानी बग्ने ठाउँ छैन, प्राण धान्नका लागि जस्तो भएपनि पानी पिइरहेका छौं, हाम्रो समस्या खै कसले देख्छ ?’
बर्षा लागेपछि पानीजन्य रोगहरुले सताउने गरेको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार