काठमाडौ ९ चैत्र । विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा मनाउने घोषणा गरे यता हरेक बर्षको मार्च २२ तारीखमा विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।
दिवसको अवसरमा खानेपानी तथा सरसफाइ मन्त्री जीवन बहादुर शाहीले यस बर्षको नाराले शहर तथा अर्ध शहरी क्षेत्रमा निष्काशन हुने फोहोर पानीको समुचित व्यवस्थापन गरी वातावरण तथा नदी नालाहरुलाई स्वच्छ र सफा राख्न थप अभिप्रेरित गरेको बताउनुभएको छ ।
उहाँले शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ ‘खानेपानीका लागि उपयोग गरिएको पानी मध्ये करिब ८० प्रतिशत फोहोर पानीको रुपमा वातावरणमा निष्काशन हुने भएकाले फोहोर पानीको उचित व्यवस्थापन गर्न सकिएमा एकातर्फ नदीनाला तथा वातावरण स्वच्छ हुन जाने अवस्था रहन्छ भने अर्कोतर्फ उर्जा निष्काशन प्रशोधित पानीलाई कृषिजन्य क्षेत्रमा पुनः प्रयोग गर्न सकिने सम्भावना रहन्छ ।’
यस्तै खानेपानी तथा ढल निकास विभागले पनि एक शुभकामना सन्देश प्रकाशन गर्दै जलवायु परिवर्तनको असरबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा देखा परेका समस्याहरुको दिगो रुपमा समाधान गर्नको लागि बर्षातको पानी संकलन गरी जलाशययुक्त खानेपानी आयोजना लगायत देशका ठूला नदिहरुबाट थोक वितरण प्रणाली जस्ता आयोजनाहरु कार्यान्वयनमा ल्याउने योजना रहेको जनाएको छ ।
विभागका महानिर्देशक तेजराज भट्टद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा जिल्ला सदरमुकाम तथा नयाँ नगरपालिकाहरु, साना शहर तथा शहरोन्मुख क्षेत्रहरुमा प्रशोधन सहितका ढल प्रणालीहरुको विकास गरी नदीनाला तथा तालतलैया लगायत समग्र वातावरणको संरक्षण गर्न तथा प्रशोधन प्रणालीबाट निस्कने पानीलाई पुनः प्रयोग गर्ने विकल्पहरु समेत कार्यान्वयनमा ल्याई यसबर्षको नारालाई साकार पार्ने जनाइएको छ । यस बर्षको विश्व पानी दिवसको नारा ‘फोहोर पानीको पुनः प्रयोग’ भन्ने रहेको छ ।