काठमाडौ : देशभर चर्पी बनाउन बाँकी घरपरिवारको आधारमा खुला ठाउँमा दिसा गर्ने सबैभन्दा बढी परिवार बारा जिल्लाका छन् । बाराका करिब १७ हजार परिवारले अझै खुला ठाउँमा दिसा गर्छन् । खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका अनुसार सरसफाइमा सबैभन्दा पछाडि रहेको जिल्ला बारा हो । बाराका १६ हजार १६४ परिवारसँग अझै चर्पीको व्यवस्था छैन । बाराको १ लाख ३ हजार ७०९ घर मध्ये ८७ हजार ५४५ घरमा मात्र चर्पी बनेको शाखाले जनाएको छ । यो करिब ८५ प्रतिशत हो ।
यस्तै धनुषा र सर्लाहीका ९ हजार भन्दा बढी परिवारले खुला ठाउँमा दिसा गर्छन् । धनुषाको ९ हजार ६७७ र सर्लाहीको ९ हजार ६२२ घरमा अझै चर्पी बनाउन बाँकी छ । महोत्तरीको पनि धेरै घरमा चर्पी बन्न बाँकी छ । ९२.२५ प्रतिशत चर्पी बनिसकेको महोत्तरीको ८ हजार ६७९ घरले चर्पी बनाउन बाँकी रहेको शाखाले जनाएको छ ।
९२ प्रतिशत घरमा चर्पी बनिसकेको पर्सामा भने ७ हजार ६४३ घरमा चर्पी बनाउन बाँकी छ । यस्तै कपिलवस्तुको ६ हजार ३७०, मोरङको ५ हजार ४५८, सिन्धुपाल्चोकको ४ हजार ६६८ घरमा, झापाको २ हजार ९९० घरमा शौचालय बनाउन बाँकी छ ।
धादिङको २ हजार ९ सय ५४ घरपरिवार, काठमाडौंको १ हजार ३०९, काभ्रेको ९१९ र रौतहटको ९०४ परिवारले पनि खुला ठाउँमा दिसा गर्दै आएका छन् ।
खुला दिसामुक्त अभियान तीब्रताका लागि खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाका खानेपानी डिभिजन तथा सवडिभिजन प्रमुखहरु सँग गरिएको छलफल तथा कार्यशालामा जिल्लागत सरसफाइको अवस्थाको प्रस्तुति पछि सम्बन्धित जिल्लाका डिभिजन प्रमुखहरुले चर्पी बनाउन बाँकी घरमा पनि चर्पी बनाउन लगाई सन् २०१८ भित्रै खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।


3374 पटक हेरिएको 

