लम्जुङ बेसीशहरमा २८ करोडको सहलगानी खानेपानी योजना

लमजुङ ११ चैत्र । लम्जुङको सदरमुकाम बेसीशहरमा २८ करोडको लागतमा सहलगानी खानेपानी योजना सञ्चालन हुने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालय र ढल निकास विभागको सहकार्यमा बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सहलगानी खानेपानी योजना सुरु गर्न लागेको हो ।

खानेपानी योजना सम्पन्न गर्नका लागि सरकारको सहलगानी सिद्धान्त अनुसार उपभोक्ताको ३० प्रतिशत अनिवार्य लगानी हुनुपर्ने र त्यसमा पनि १० प्रतिशत नगद सरकारकै खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । सहलगानीको लागि उपभोक्ताबाट रकम संकलन गरिने बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल प्रधानले बताउनुभयो ।

अहिले बेसीशहरमा आठवटा मुहानबाट खानेपानी ल्याएर वितरण गरिरहेको छ । सबै मुहानको पानी जम्मा गर्दा प्रतिसेकेन्ड २८ लिटर पानी आउने गरेको अध्यक्ष प्रधानले बताउनुभयो । बेसीशहरमा दैनिक २० लाख लिटर पानीको माग भएकाले त्यसको आपूर्तिका लागि सहलगानी अन्तर्गत खानेपानी आयोजना निर्माण गर्नुपरेको अध्यक्ष प्रधानले बताउनुभयो ।

सहलगानी खानेपानी योजना तीन वर्षमा सम्पन्न हुनेछ । योजना सम्पन्न भएपछि थप २५ लिटर प्रतिसेकेन्ड पानी आउने उहाँको भनाइ छ । योजना सम्पन्न भएपछि  आगामी ३० वर्षसम्मका लागि बेसीशहरमा पानीको अभाव नहुने उहाँको दाबी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार