काठमाडौ : सुरक्षित महिनावारी अभियन्ता गंगा खड्का राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा खड्का सहित विभिन्न विधाका १० जना युवालाई युवा तथा खेलकुद मन्त्रालयले नगद एक लाख रुपैयाँ सहित सम्मान गरेको हो । सम्मानित युवाहरुलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सम्मानपत्र र एक लाखको चेक प्रदान गर्नुभएको थियो ।

को हुन् गंगा खड्का ?
गंगा खड्का सुरक्षित महिनावारी अभियन्ता र पत्रकार हुनुहुन्छ । उहाँ सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जालकी कार्यकारी अध्यक्ष हुनुहुन्छ । विगत पाँच वर्षदेखि सुरक्षित महिनावारी अभियानको क्षेत्रमा क्रियाशील खड्काले विगत गुल्मी, पाल्पा, सुर्खेत र बैतडी जिल्लामा पुगेर विद्यालयका किशोरीहरुलाई सुरक्षित महिनावारीको विषयमा अभिमुखीकरण गर्दै आउनुभएको छ ।

सुरक्षित महिनावारी अभियान मार्फत उहाँले सामाजिक रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएकाले यवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको हो ।
उहाँले सुरक्षित महिनावारी सम्बन्धी छात्राहरुलाई अभिमुखीकरण गर्दै आउनुभएको छ । सञ्जाल गठन, सेनेटरी प्याड वितरण गर्दै आउनुभएकी खड्काले विद्यालयमा इन्सिनेटर सहितको छात्रा शौचालय र फोकल शिक्षिकाको व्यवस्था गर्नुपर्ने विषयमा आवाज उठाउँदै आउनुभएको छ । पाँच बर्षको अवधिमा अहिलेसम्म ८० भन्दा बढी विद्यालयका करिब १२ हजार छात्राहरु लाभान्वित भएका छन् ।

महिनावारी भएको बेला विद्यालयमा किशोरीहरुले भोग्नुपरेको पीडा देखेर आफूले सुरक्षित महिनावारी अभियान सञ्चालन गरेको र यस अभियानलाई महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन गरेर देशभरि पु-याउने उहाँले बताउनुभयो ।


1988 पटक हेरिएको 

