तीन पानी उद्योगले खानेपानी उत्पादन तथा विक्री गर्न नपाइने

मकवानपुुर : मकवानपुरबाट पानी उत्पादन गर्दै आएका तीन वटा उद्योगले खानेपानी उत्पादन तथा विक्री गर्न नपाउने भएका छन् । हेटौंडा–८ स्थित मकवानपुर वेभरेज प्रालिको ‘माई च्वाइस’ ब्राण्डको पानी, हेटौंडा–९ स्थित शुभ वेभरेज इन्डष्ट्रिज प्रालिको ‘एक्वा टाईम’ ब्राण्डको पानी र हेटौंडा–९ स्थित नेचुरल वेभरेज प्रालिको ‘अमृत जल’ ब्राण्डको पानी उत्पादन तथा विक्रीमा रोक लगाइएको हो ।

उद्योग अनुगमन तथा पानीको जाँच गर्दा पानीमा ‘कोलिफर्म’ तथा ‘इस्ट एण्ड मोल्ड’ जस्ता स्वास्थ्यलाई हानी गर्ने सुक्ष्म जिवाणु भेटिएपभिछ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले पिउन अयोग्य भएका कारण पानी उत्पादन र बिक्रीमा रोक लगाएको हो ।

खाद्य नियमावली २०२७ को नियम ८ को उपनियम १ (ग) बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशमा उत्पादन तथा विक्रि वितरण रोक्का गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले जानकारी दिनुुभयो ।

‘उद्योगहरूले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिम पानी उत्पादन गर्दा आवश्यक मापदण्ड पुरा हुनुपर्ने, पानी उत्पादन तथा सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, उत्पादन भएको प्रशोधित पानीमा कुनै समस्या नहुने प्रतिबद्धता जाहेर गर्नुपर्ने तथा पानी जाँच गर्दा अनुकुल देखिए मात्र उद्योग खुल्ने रिजालले बताउनुुभयो ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत रिजाल, खाद्य निरीक्षक जगतप्रसाद चौधरी, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, नायब सुब्बा मदन कुमार श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष वासु खतिवडा, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अनुजजंग रायमाझी, कम्पनी संचालक, कर्मचारी स्थानीयको उपस्थितिमा उद्योगमा पानी उत्पादन तथा बिक्रीमा रोक लगाइएको हो ।

गत साउन १७ मा संयुक्त बजार अनुगमन टोलीले प्रशोधित पिउने पानीको नमुना जाँच गर्दा प्रतिकुल देखिएको कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार