नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका ओखरपौवाकी महिला स्वास्थ्य स्वयंसेविका बिन्दा फुयाँल घिमिरेलाई अहिले खाना खाने समेत फुर्सद छैन । कसको घरमा सरसफाइको अवस्था कस्तो छ भनी अनुगमन गर्ने र त्यही अनुसारको सरसफाइ सम्बन्धी सल्लाह दिदैमा दिन जाने गरेको छ ।
बिन्दा सँगै अन्य स्वास्थ्य स्वयंसेविकाहरुको दैनिकी पनि त्यसरी नै चलिरहेको छ । सरसफाइ प्रबद्र्धनका लागि महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरेपछि स्वास्थ्य स्वयं सेविकाहरुको व्यस्तता बढेको हो ।

सरसफाइमा महिला स्वास्थ्य स्वयं सेविकाहरुको भूमिकाको पहिचान गरी युके एड र एसिएफको आर्थिक सहयोगमा नुवाकोटको गेर्खुटार युवा क्लवले ककनी गाउँपालिका वडा नं. १, २ ४ र ५ मा सरसफाइ प्रबद्र्धनका लागि महिला स्वास्थ्य स्वयं सेविका परिचालन गरेको हो ।
सरसफाइको अभावमा लाग्न सक्ने झाडापखाला, आउँ, हैजा जस्ता रोगको नियन्त्रण तथा सरसफाइ बारे चेतना अभिबृद्धिका लागि महिला स्वास्थ्य स्वयं सेविकालाई घरघरै परिचालन गरिएको एसिएफकी वरिष्ठ कार्यक्रम अधिकृत स्मृति शाहले जानकारी दिनुभयो ।
स्वास्थ्य स्वयं सेविकाले घरघरै पुगेर के गर्छन् त ?
महिला स्वास्थ्य स्वयं सेविकाहरुले एउटा घरमा एक पटक गएर मात्र पुग्दैन । एसिएफकी वरिष्ठ कार्यक्रम अधिकृत स्मृति शाहका अनुसार एउटा घरमा तीन पटक पुग्नुपर्छ । शुरुमा घरधुरी भेटघाट गरी तोकिएको फारम भर्नुपर्छ । फारम भरेपछि महिला स्वास्थ्य स्वयं सेविकाले हरेक घरको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था केलाउनुहुन्छ । त्यसैको आधारमा कुन घरका लागि के सल्लाहको खाँचो छ ? भन्ने कुरा पत्ता लगाएर दोस्रो पटकको घरधुरी भेटघाटमा सल्लाह, सुझाव वा स्वास्थ्य सम्बन्धी जानकारी दिनहुन्छ ।

हरेक घरमा पुगेर खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सल्लाह सुझाव दिएपछि तेस्रो पटक अनुगमन गर्नुहुन्छ । अनुगमनका क्रममा दोस्रो पटक घरधुरी भेटघाटका क्रममा दिएको सल्लाह बमोजिम कुन कुन पक्षको सुधार भयो भन्ने कुराको विश्लेषण गरिन्छ र पुनः सल्लाह दिइन्छ ।
सामूहिक रुपमा भेला गराएर सरसफाइ सम्बन्धीका कुरा गर्दा त्यो सबै घरका लागि कामलाग्दो नहुने र कतिले पनि कार्यान्वयन गरिसकेको हुनाले जसका लागि जे आवश्यकता पर्छ, त्यो जानकारी मात्र गराउन यस्तो विधि अवलम्बन गरिएको गेर्खुटार युवा क्लवकी पब्लिक हेल्थ प्रमोसन अफिसर शैलजा प्याकुरेलले जानकारी दिनुभयो ।
यस कार्यक्रम अन्तर्गत चौथो चरणमा गाउँका सबै घरधुरीबाट एक एक जना बोलाई सामूहिक छलफल गरिन्छ । सरसफाइमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन बाट झाडापखाला तथा अन्य रोगहरु लाग्न नपाएको लाभान्वित आमाहरु बताउँछन् ।

‘पहिले हामीले बोलाउने बेला मात्र आउनु हुन्थ्यो, अहिले आफै आउनुहुन्छ त्यो पनि तीन तीन पटक, महिला स्वास्थ्य स्वयं सेविका घरैमा आउँदा निक्कै सुरक्षित भएको महसुस हुँदो रहेछ’ ओखरपौवाकी देवी बलामीले बताउनुभयो ।
महिला स्वास्थ्य स्वयं सेविकाहरुले नियमित घरभेट गर्न थालेपछि नचिनेकाहरुले पनि चिन्न थालेको र भोलिका दिनमा आउन सक्ने स्वास्थ्य समस्याहरु भन्नका लागि पनि बाटो खुलेको गेर्खुटार युवा क्लवकी पब्लिक हेल्थ प्रमोसन असिस्टेन्ट सन्तोषी केसीले बताउनुभयो ।


2310 पटक हेरिएको 

