धादिङ : पसलको नाम ‘हाईवे कोल्ड स्टोर’ तर चिसोजन्य पदार्थ भन्दा ‘जङ्क फुड’ नै बढी पाइन्छ । अझ अर्को सेवा त बसका यात्रुका लागि पसलसँगै जोडेर सार्वजनिक शौचालय जस्तै बनाईदिनुभएको छ ।
धादिङको धुनीबेसी नगरपालिका धार्केका गोविन्द अधिकारीले यस्तो शौचालय बनाउनुभएको हो । जहाँ शौचालय प्रयोग गरेपछि मानिसहरु उहाँलाई बक्सिस दिन्छन् । बक्सिस थाप्नका लागि उहाँले हात धुने ठाउँको छेवैमा चन्दा बाकस जस्तै राख्नुभएको छ । दिसापिसाब गरेपछि मानिसहरु त्यही बाकसमा पैसा खसाल्छन् ।

सार्वजनिक शौचालयमा जस्तो प्रयोग गरेपछि पैसा तिर्नैपर्ने बाध्यता छैन उहाँको शौचालयमा । शौचालय सेवाबाट खुसी भएकाले बक्सिस खसाल्ने गरेको उहाँको अनुभव छ । ‘शौचालयको सरसफाइ गरिरहनुपर्छ, यसको सञ्चालनका लागि पैसा र श्रम दुवै खर्च हुन्छ भन्ने बुझेका मानिसहरुले प्राय केही न केही रकम खसालेर मात्र जानुहुन्छ’ अधिकारीले भन्नुभयो ।

उहाँको पसलका ग्राहकले मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन, शौचालय सबैका लागि सधैं खुला हुन्छ । शौचालय प्रयोग गरेपछि पैसा तिर्नैपर्ने अवस्थाको अन्त्य गरी स्वेच्छिक रुपले तिर्ने परिपाटीको विकास गर्न आफूले यस्तो तरिका अपनाएको अधिकारीको भनाइ छ ।
‘कसै कसैसँग त पैसा हुँदैन । फेरि पैसा नै उठाउने भनेर सञ्चालन गरेमा एक जना पैसा उठाउने मानिस पनि त चाहियो । सबैसँग पैसा संकलन गरेर शौचालयको रेखदेख गर्ने मानिसलाई रकम दिंदा आम्दानी कति नै हुन्छ र ? त्यसैले मैले यस्तो तरिका अपनाएको हुँ’ उहाँले भन्नुभयो ।

बक्सिस बापतको रकम दैनिक यत्ति नै रुपैयाँ हुन्छ भन्ने हुँदैन । अधिकारी भन्नुहुन्छ ‘यो मानिसको चापमा मात्र होइन, मनमा पनि भर पर्छ । बुझ्ने मानिसहरु आएमा अलि बढी नै हुन्छ, सबैले तिर्नैपर्छ भन्ने पनि नभएकाले कहिले एक, डेढ सय रुपैयाँ मात्र पनि हुन्छ ।’


1460 पटक हेरिएको 

