सुर्खेत १४ चैत्र । सुर्खेतबाट उकालो उक्लिएपछि दैलेखतिर जाने क्रममा डाँडैमा पर्छ बीरेन्द्रनगर नगरपालिकाको वडा नं. २४, रातानाङला । सडकको दायाँ बायाँ झुरुप्प परेका घरमा पुराना –पुराना घैंटाहरु पनि छन् । घैंटामा असार साउनमा परेको पानी भरिएको हुन्छ । रातानाङला उच्च ठाउँमा पर्ने भएकाले वस्तीभन्दा अग्लो ठाउँमा पानीको मूल छैन । वस्तीभन्दा तलतिर रहेको पानी पहाडको थुम्कीमा रहेको वस्तीमा त चढाइएको छ, तर वत्ती हुँदा आउने र बत्ती नहुँदा नआउने भएकाले खासै भर छैन ।
हेर्नुहोस् यो भिडियो ।
वीरेन्द्रनगर नगरपालिका २४ की दुर्गा ढकाल भन्नुहुन्छ ‘घैंटोको पानीलाई अपर्झट समस्या हुँदा चलाउनका लागि जोगाएर राखेका हुन्छौं, विजुली बाट तान्ने पानीको भर छैन, त्यसैले जत्तिबेला धारामा पानी आउँदैन, त्यत्तिबेला नै पानी चलाउँछौं ।’
रातानाङ्लाका बासिन्दाले घैंटोको पानीलाई फिल्ट्रेशन गरेर पिउने गरेका छन् । खाना पकाउन, लुगाफाटो धुन र सरसफाइका साथै पानी पिउन पनि प्रयोग गरिएको ढकालले बताउनुभयो ।
घरमै पानीको भण्डार भएपछि पानी लिन जाने समय बचेको र त्यो समयमा तरकारी गोडमेल तथा होटलमा खाना तथा खाजा पकाउने र ग्राहकले सेवा दिने गरेको उहाँले बताउनुभयो ।
रातानाङलाका अधिकांशले होटल तथा तरकारी खेती गर्दै आएको छ । त्यहाँको तरकारी सुर्खेतमा लगेर विक्री गर्ने गरेको गंगाबहादुर कार्कीले बताउनुभयो । सुर्खेतको रातानाङ्ला, दैलेखको गाइबान्न, दुल्लु लगायतका ठाउँमा हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रम (वार्म–पी) स्थानीयबासिन्दा सँग मिलेर बर्षातको पानी संकलन गर्न मिल्ने घैंटो निर्माण गरिदिएको छ ।