काठमाडौ : आर्थिक बर्ष २०७४/०७५ मा रकमान्तर गरी प्राप्त बजेटबाट खानेपानी तथा ढल निकास विभाग अन्तर्गत साविकका क्षेत्रीय कार्यालय, डिभिजन तथा सव डिभिजन कार्यालयहरुले सम्पादन गरेका कामहरुको अनुगमन हुने भएको छ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले सम्पादित कामको अनुगमन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी सहित हरेक प्रदेशको लागि ३ सदस्यीय अनुगमन टोली बनाएको हो ।
गत आर्थिक बर्षको अन्त्यमा अर्थमन्त्रालयले खानेपानी विभागलाई २ अर्ब ५४ करोड रूपैयाँ रकमान्तर गरेको र उक्त रकमको उपयोगिता बारे विभिन्न पत्रिकामा खबर छापिएपछि यससम्बन्धी छानबिनका लागि खानेपानीमन्त्री बीना मगर स्वयंले तदारुकता देखाएपछि अनुगमनका लागि समिति गठन गरिएको हो ।
आर्थिक बर्ष २०७४/०७५ का लागि खानेपानी विभागको नियमित विनियोजित बजेट रकम ४ अर्ब ७७ करोड रूपैयाँ मात्र भएपनि विभागका लागि अर्थमन्त्रालयले असार १५ देखि ३० को अवधिमा २ अर्ब ५४ करोड रूपैयाँ रकमान्तर गरेको थियो ।
रकमान्तर गर्दा अर्थ मन्त्रालयले स्रोतको एकीन नगरी दायित्व सिर्जना गर्ने सम्बन्धित पदाधिकारीलाई सम्बन्धित मन्त्रालयले सजग गराउने र सिर्जित दायित्व, खरिद प्रक्रिया, सम्पन्न कामको परिमाण र गुणस्तर सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट छानबिन गर्ने गरी रकमान्तर गरिएको व्यहोरा उल्लेख गरेपनि चतुर कर्मचारीले खानेपानी मन्त्री बीना मगरलाई भुलभुलैयामा पारेर रकम खर्च गरेका थिए ।
आर्थिक दायित्व नै सिर्जना नगरी रकमान्तर गर्ने अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयका सचिव एवं खानेपानी तथा ढल निकास विभागका महानिर्देशक नै यसको दोषी रहेको खानेपानी मन्त्रीको सचिवालयले जनाएको छ ।
ठेक्कापट्टा भएको, ठेकेदारले लक्ष्य भन्दा बढी काम गरेको र त्यसरी गरेको कामको भुक्तानी गर्नु सिर्जित दायित्व हो । तर अर्थ मन्त्रालयले भने दायित्व नखोजी खानेपानी मन्त्रालयको सिफारिसकै भरमा रकमान्तर गरेको भेटिएको छ ।
कुन प्रदेशको अनुगमन समितिमा को ?
प्रदेश १, संयोजक सिडिई अरुण सिम्खडा
सदस्यहरु अर्थशास्त्री कमलकान्त पौडेल र इन्जिनियर नरेश रेग्मी
प्रदेश २, संयोजक कामु क्षेत्रीय प्रमुख नन्दलाल बञ्जाडे
सदस्यहरु शाखा अधिकृत रमेश पाण्डेय र इन्जिनियर समित यादव
प्रदेश ३, संयोजक क्षेत्रीय निर्देशक रमाकान्त दुवाडी
सदस्यहरु सिडिई अनोज उपाध्याय र शाखा अधिकृत रामचन्द्र दंगाल
गण्डकी प्रदेश, संयोजक क्षेत्रीय निर्देशक चन्द्र बहादुर केसी
सदस्यहरु इन्जिनियर महेन्द्र महर्जन र शाखा अधिकृत लोक बहादुर खड्का
प्रदेश ५, संयोजक कामु क्षेत्रीय प्रमुख प्रदीप मुडबरी
सदस्यहरु इन्जिनियर तिलक राम श्रेष्ठ र सदस्य लेखा अधिकृत राजेन्द्र घिमिरे
कर्णाली प्रदेश, संयोजक सिडिई प्रेम कृष्ण श्रेष्ठ
सदस्यहरु इन्जिनियर सुधीर शाह र नायब सुब्बा नवराज न्यौपाने
सुदुरपश्चिम प्रदेश, संयोजक सिडीई पूर्ण प्रसाद उपाध्याय
सदस्यहरु इन्जिनियर मधुसुदन खनाल र शाखा अधिकृत भक्त बहादुर शाह


1399 पटक हेरिएको 

