खुला दिसामुक्त जिल्ला घोषणा कागजमै सीमित

हुम्ला : दुई वर्षअघि हुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि कागजमै सीमित भएको छ  । अनुगमन र घोषणा कार्यान्वयन नहुँदा यहाँका अधिकांश बस्ती शौचालय विहीन छन् भने भएका शौचालय पनि प्रयोगविहीन भएका छन् ।

नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त बनाउने लक्ष्यसहित सरकारले दुई वर्षअघिसम्म जिल्लाभर बिभिन्न अभियान सञ्चालन गरेको थियो । खुला दिसामुक्त घोषणा गर्नुअघि बनाइएका शौचालय समेत स्थानीयले प्रयोग गर्न छाडेका छन् ।

जिल्लाका अधिकांश जनप्रतिनिधिकै घरमा शौचालय छैनन् । ग्रामीण क्षेत्रमा शौचालय भए नभएको बारे अनुगमन गर्ने निकाय नहुँदा अधिकांश गाउँमा जथाभावी खुला शौच हुने गरेको हो । स्थानीय तहले समेत खुला शौच नियन्त्रणमा ध्यान नदिएको स्थानीयको गुनासो छ । यहाँका स्थानीय सरकारले सरसफाइका लागि स्पष्ट कार्यक्रम सञ्चालन नगरेको पाइएको छ ।

स्थानीय अगुवा रामचन्द्र बुढाले अधिकांश बस्तीका शौचालय प्रयोगविहीन भएको बताउनुभयो । सदरमुकामस्थित सिमकोट गाउ‘पालिकाको तल्लो गाउँ पनि खुला शौचका कारण दुर्गन्धित बन्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सदरमुकाम खुला शौचका कारण दुर्गन्धित बनेको बताउनुभयो । ‘सिमकोट बजारबाट शिवमन्दिर जाँदा दिसा कुल्चदै हिँड्नुपर्ने अबस्था छ,’ सदरमुकाममा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो ‘खुला शौचका कारण भारतीय तीर्थयात्रीलाई आउजाउमा समस्या भएको छ ।’ उहाँले गाउँ‘मा शौचालय बनाइए पनि स्थानीयले घाँस दाउरा राख्न प्रयोग गर्ने गरेको बताउनुभयो । स्थानीय तहले सरसफाइ प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

जिल्लालाई २०७३ साउन १० गते निकै तामझामका साथ खुला दिसामुक्त घोषणा गरिएको थियो । सरकारको सन् २०१७ सम्म खुला दिसामुक्त मुलुक बनाउने लक्ष्य पूरा गर्न विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो ।

उक्त समय जिल्लाभर शौचालय निर्माणले तिब्रता पाएको थियो । अधिकांश स्थानमा सरकारी तथा गैरसरकारी अनुदानमा शौचालय निर्माण गरिएका थिए ।

सिमकोट गाउ‘पालिकाको केन्द्र रहेको सिमकोटको मूल सडक बाहेक अधिकांश क्षेत्रमा खुला दिसापिसाब देखिने गरेको छ । सदरमुकामकै केही घरधुरीमा अझै शौचालय बन्न सकेका छैनन् । शौचालय निर्माण गरेकाहरूले समेत बाहिरै शौच गर्ने गरेका छन् ।

शिवमन्दिर जाने बाटोमात्र नभएर तल्लो गाउ‘को पूर्वी भाग दिसाले भरिएको स्थानीय नरध्वज रोकायाले बताउनुभयो । ‘बिहान र साँझ बाटो र खाली स्थानमा दिसा गर्न जानेको लर्को लाग्ने गरेको छ,’ उहाँले भन्नुभयो ‘घरमा शौचालय भएका समेत बाहिरै शौच गर्छन ।’ उहाँले शिवमन्दिर दर्शन गर्न जान समेत समस्या भएको बताउनुभयो ।

सर्केघाट गाउ‘ँपालिकाको राहदेउ गाउँमा बाटोभरि नै दिसैदिसा भएको स्थानीय व्यवसायी इन्द्र चापागाईंले बताउनुभयो । ‘खुला दिसामुक्त घोषणा गरिए पनि कागजमै सीमित भयो,’ उहाँले भन्नुभयो, ‘गाउँका अधिकांश शौचालय प्रयोगविहीन छन् ।’ उहाँले सरकारी तथा गैरसरकारी निकायले सरसफाइको अभियानलाई बीचैमा रोकेकाले समस्या भएको बताउनुभयो ।

उहाँका अनुसार शौचालय प्रयोग भए नभएकोबारे अनुगमन गर्ने संयन्त्र नहुँदा समेत खुला शौच बढेको छ । नयॉ घर निर्माण गरेका अधिकांश स्थानीयले शौचालय निर्माण नगरेको उहाँले बताउनुभयो । सरसफाइ व्यवस्थापन र निगरानी राख्ने जिल्लाको एक मात्र सरकारी निकाय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खारेज भएपछि सरसफाइ सम्बन्धी क्रियाकलाप हुना छाडेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार