
काठमाडौ : दशैं, तिहार, छठ लगायत पर्वहरुको बीचमा अर्को पर्व पनि भित्रिदैछ । त्यो हो चर्पी पर्व । विश्व चर्पी दिवसको सन्दर्भ पारी नेपालमा चर्पीको चर्चा परिचर्चा सुरु भइसकेको छ ।
हरेक बर्ष नोभेम्बर १९ मा मनाईने विश्व चर्पी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउनका लागि छलफल तथा सरसल्लाह हुना थालेको छ । मंगलबार नवीकरणीय उर्जा परिसंघ नेपालले यस विषयमा छलफल कार्यक्रमको आयोजना ग-यो ।
चर्पीमा महानतम् क्रान्ति : पूर्व सचिव उपाध्याय
कार्यक्रममा पूर्व खानेपानी सचिव भीम उपाध्यायले आफूले चीन भ्रमणका क्रममा दिसापिसावलाई तुरून्तै केमिकल र फिजिकल रियाक्सन गरी रिसाईकल गरिने, पानी रिसाईकल भएर पुनः प्रयोग गर्न मिल्ने र त्यसबाट उर्जा उत्पादन भएर चर्पी संचालन हुने प्रविधि देखेको बताउनुभयो ।
उहाँले केही ठोस पदार्थ खरानीको रूपमा विस्तारै जम्मा भएर स्वतः सबै क्रिया चर्पीभित्रै पूरा भएकाले ढल वा सेप्टिक ट्यांक समेत जरुरत नपर्ने बताउनुभयो ।
‘दुनियाँमा यस्तो चर्पी बनिसकेको छ र त्यसको प्रदर्शनी बेजिंगमा हेर्न पाईयो । अबको केही समय भित्रै प्रदूषरहित, ढल प्रणालीबिहीन, पानी नचाहिने चर्पी नेपालमा पनि भित्रने प्रचुर संभावना छ । ढल प्रणाली आवश्यक नपर्ने चर्पी प्रणाली साँच्चिकै चर्पीमा आजसम्मको महानतम् क्रान्ति बन्दैछ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा पूर्व विज्ञान, प्रविधि तथा वातावरणमन्त्री गणेश शाहले ज जसले जसरी सकिन्छ त्यसरी नै चर्पीबारे सचेतना फैलाउन आग्रह गर्नुभयो । उहाँले चर्पीको बारेमा धेरै चेतना फैलाउन आवश्यक रहेको भन्दै यसलाई आजआर्जनसँग जोड्न सके चर्पी निर्माण र दिसाजन्य लेदो व्यवस्थापनमा उपलब्धीमूलक काम हुने बताउनुभयो ।
छलफल कार्यक्रममा वातावरणको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति थियो । नेपालको सफाइको अवस्था चर्पी निर्माणकै क्रममा भएकाले यसबाट निस्कने फोहोर (दिसाजन्य लेदो) को सही व्यवस्थापनका लागि उपयुक्त प्रविधिलाई अंगाल्न सकेमा मात्र चर्पी निर्माणपछि समस्या नआउने बक्ताहरुले बताएका थिए ।


1525 पटक हेरिएको 

