विद्यालय सरसफाइ सम्बन्धी विद्यार्थीका निबन्ध  

सिन्धुपाल्चोक : विद्यालय सरसफाइ र मेरो जिम्मेवारी शीर्षकमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका विद्यार्थीका बीचमा निबन्ध प्रतियोगिता गरिएको छ । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको आयोजनामा भएको प्रतियोगितामा मेलम्चीका ६ र हेलम्बुका ६ विद्यालयका २४ जना विद्यार्थी सहभागी भएका थिए ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीका बीचमा भएको प्रतियोगिताका सहभागीले फोहोर नगर्ने, कम गर्ने र समयमैं व्यबस्थापन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

पाल्चोक माध्यामिक विद्यालय ककनीकी विष्णुमाया तामाङ लेख्छिन्, ‘हामी पाल्चोक माध्यामिक विद्यालयलाई सरसफाइको नमुना विद्यालयका रुपमा चिनाउन चाहन्छौं । यदि हामीले फोहोर गरेनौं भने सफा पनि गर्नु पर्दैन । हामीले फोहोर उत्पादनलाई कम गर्ने, पुनः प्रयोग गर्ने र त्यसलाई प्रशोधन गरेर पुनः प्रयोग गर्ने विधि अपनाएर विद्यालय र समुदायको सरसफाइ र फोहोर व्यबस्थापन गर्न सक्छौं ।’

आफ्नो विद्यालयमा उत्पादन भएका कुहिने फोहोर संकलन गरेर कम्पोष्ट मल बनाइ विद्यालयको करेसाबारीमा प्रयोग गर्ने गरेको र नकुहिने फोहोरलाई उत्पादन कम गर्ने र पुनः प्रयोग गर्ने विधि अपनाइ व्यबस्थापन गर्ने गरेको कुरा पनि उनले निबन्धमा उल्लेख गरेकी छिन् ।

‘विद्यालय भवन (भित्ता) मा जथाभावी नकेर्ने, शौचालयको प्रयोग गरेपछि प्रशस्त पानी हाल्ने, हरेक कक्षाकोठामा डस्टवीन र कुच्चो राखेर फोहोर संकलन गर्ने गर्नुपर्छ ।’ उनी लेख्छिन्, ‘विद्याको मन्दिर भनेर चिनिने विद्यालय भवन र अन्य संरचनाको संरक्षण गर्नु हामी विद्यार्थीको पनि जिम्मेवारी हो । हामीले विद्यालयको रेलिङ, पर्खाल आदिमा तोडफोड गर्नु हुँदैन, झ्याल ढोका तथा विद्यालयमा ढुङ्गा हान्नु हुँदैन र अरुलाई पनि प्रयोग गर्ने सहि तरिका र सरसफाइका बारेमा सिकाउनु पर्छ ।’

बतासे माध्यामिक विद्यालयकी रिममाया तामाङले आफ्नो विद्यालयमा हप्ताको २ दिन सबै विद्यार्थीको सहभागितामा सरसफाइ र फोहोर व्यबस्थापनको काम गर्ने गरेको कुरा उल्लेख गरेकी छिन् । ‘हामीले आफु पढ्ने कक्षाकोठा, शौचालय, खानेपानीको धारा, खेलमैदान र पुस्तकालयको नियमित सरसफाइ गर्नुपर्छ ।

६ घण्टा समय बिताउने विद्यालय सफा भएन भने हामीलाई सरसफाइको कमीका कारण लाग्ने रोगहरु लाग्छ र हामी विद्यालय समेत नियमित नहुन सक्छौं ।’ उनी लेख्छिन्, ‘सदन अनुसार हप्ताको दुईचोटी विद्यालय र वरपर सरसफाइ गर्ने गरेका छौं । कुहिने फोहोर जस्तैः कागजका टुक्रा, पेन्सिल ताछेपछिको धुलो, झारपात आदिलाई खाडलमा हालेर कम्पोष्ट मल बनाउँछौं ।

खेर जाने पानी संकलन गरेर करेसाबारीमा सिंचाई गर्ने गरेका छौं ।’ विद्यालयमा मात्रै नभएर समुदायमा पनि फोहोर संकलनका लागि ठाउँठाउँमा बोरा राखिएको र कक्षाकोठा अनि वरपरको वातावरण सफा भएमात्रै विद्यार्थीको पढाइमा ध्यान जाने र अतिरिक्त कृयाकलापमा सहभागी हुन उत्प्रेरित हुने कुरा पनि उनले निबन्धमा उल्लेख गरेकी छिन् ।

सरस्वती माध्यामिक विद्यालयकी अस्मिता लामिछानेले विद्यालयको सरसफाइसँगै महिनावारी व्यबस्थापन र सेनिटरी प्याड जलाउने इन्सिनेरेटरको निर्माण तथा प्रयोगका कुरालाई पनि जोड दिएकी छन् । ‘विद्यालयको सरसफाइका लागि बाल क्लवले नेतृत्व लिँदा सहज हुन्छ ।

छात्र छात्राको लागि छुट्टै शौचालयको व्यबस्था हुनुपर्छ । शौचालयमा प्रयोग गरेको सेनिटरी प्याड जथाभावी नफाली जलाउनका लागि बनाइएको इन्सिनेरेटरमा फाल्ने र नियमित जलाउने गर्नुपर्छ । यसबाट फोहोर र दुर्गन्ध हुन पाउँदैन ।’

उनी लेख्छिन्, ‘म एउटा शिक्षित विद्यार्थी भएका कारण विद्यालय हाताको दैनिक सरसफाइमा संलग्न हुने गरेकी छु । म त भन्छु विद्यालय व्यबस्थापन समितिले पनि प्रत्येक बैठकमा सरसफाइ सम्बन्धीको एजेण्डमा अनिवार्य छलफल गरेर आवश्यक निर्णय लिइ कार्यान्वयन गर्नुपर्छ । गाउँपालिका नगरपालिका र वडा कार्यालय तथा यस क्षेत्रमा काम गरिरहेका संघ संस्थाले पनि विद्यालय सरसफाइका क्षेत्रमा बजेट बिनियोजन गर्नुपर्छ ।’

 

क्षेत्रगत रुपमा आयोजना गरिएको प्रतियोगितामा विष्णुमाया, रिममाया, अस्मिता जस्तै अरु २१ जना विद्यार्थीले विद्यालय सरसफाइ र मेरो (विद्यार्थीको) जिम्मेवारी शीर्षकमा निबन्ध लेखेका थिए । खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन सम्बन्धी सिन्धुपाल्चोकमा लामो समयदेखि काम गरिरहेको संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले सरसफाइका लागि विद्यार्थीलाई उत्प्रेरित गर्दै निबन्ध मार्फत उनीहरुको अनुभव र सिकाइ आदान प्रदान गर्ने अवसर श्रृजना गरेको थियो ।

कारितास स्विटजरल्याण्ड र हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालित सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुनस्थापना परियोजना अन्तर्गत कार्यक्षेत्रका तीन ठाउँमा निबन्ध प्रतियोगिता आयोजना गरिएको कार्यक्रम अधिकृत विनोद शर्माले बताउनुभयो ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी दुवाचौर, तालामाराङ र ग्याल्थुममा अघिल्लो हप्ता भएको क्षेत्रगत निबन्ध प्रतियोगितामा १२ विद्यालय सहभागी भए । दुवाचौर र पाल्चोकका लागि बालसुधार माध्यामिक विद्यालयमा भएको प्रतियोगितामा बालसुधार माध्यामिक विद्यालयकी मुस्कान तामाङ पहिलो, पाल्चोक माध्यामिक विद्यालय ककनीकी विष्णुमाया तामाङ दोस्रो र जयबागेश्वरी माध्यामिक विद्यालय पाल्चोककी निमा डोल्मा तामाङ तेस्रो भए ।

उक्त प्रतियोगितामा पाल्चोक, जयबागेश्वरी, बालसुधार र जलवाइदेवी मावि तथा ज्योतीभञ्ज्याङ आधारभुत विद्यालयका ५ छात्र र ५ छात्रा गरी १० जनाको सहभागिता रहेको थियो ।

तालामाराङको जागेश्वरी आधारभुत विद्यालयमा भएको प्रतियोगितामा बतासे माध्यामिक विद्यालयकी रिममाया तामाङ पहिलो, जागेश्वरी आधारभुत विद्यालयका विवेक तामाङ दोस्रो र पञ्चकन्या आधारभुत विद्यालयकी एलिना आचार्य तेस्रो भए । उक्त प्रतियोगितामा पञ्चकन्या र जगेश्वरी आधारभुत विद्यालय तथा बतासे माध्यामिक विद्यालयका ३ छात्र र ३ छात्रा गरी ६ जनाको सहभागिता रहेको थियो ।

महाँकाल, इचोक र हेलम्बुका लागि सरस्वती माध्यामिक विद्यालयमा भएको प्रतियोगितामा सरस्वती माध्यामिक विद्यालयका अस्मिता लामिछाने पहिलो, सर्बोदय माध्यामिक विद्यालयकी मिरा तामाङ दोस्रो र महेन्द्र माध्यामिक विद्यालयकी दिपा दंगाल तेस्रो भए ।

उक्त प्रतियोगितामा सर्बोदय, महेन्द्र, गोल्मादेवी र सरस्वती माध्यामिक विद्यालयका ३ छात्र र ५ छात्रा गरी ८ जनाको सहभागिता रहेको थियो । विद्यार्थीमा भएको क्षमता प्रदर्शन गर्ने अवसर श्रृजना गर्ने र खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन सम्बन्धी विद्यार्थीको सिकाइलाई पनि आदान प्रदान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको मञ्चले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार