काठमाडौ : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छाउपडी प्रथा विरुद्ध गाउँ गाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा छाउगोठमा ज्यान जाने क्रम नरोकिएपछि छाउपडी विरुद्धको सचेतना कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने भएको हो ।
छाउपडी प्रथाका कारण महिलाको ज्यान जाने बिषय सामाजिक सुरक्षासँग पनि सम्बन्धित भएकाले यसलाई अभियानकै रुपमा स्थानीय तहसम्म कार्यक्रम सञ्चालन गरिने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माले बताउनुभयो ।
हेरौं यो भिडियो :
उहाँले एक बर्ष अभियानको रुपमा कार्यक्रम सञ्चालन गर्ने र अर्को बर्ष यसको प्रभावबारे अध्ययन गर्ने बताउनुभयो । ‘हामीले पहिलो त छाउगोठमा बस्नुको कारण केलाउने र यसको निराकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने हो’ उहाँले भन्नुभयो ।
तर यसका लागि स्थानीय तहले जिम्मेवारी लिनुपर्ने र स्थानीय सरकारकै संयोजकत्व र प्रतिबद्धतामा सञ्चालन गर्ने कार्यक्रमलाई संघीय सरकारले समन्वय मात्र गर्ने बताउनुभयो ।
यसअघि हरेक जिल्लामा रहेका महिला तथा बालबालिका कार्यालय मार्फत कार्यक्रम सञ्चालन हुँदै आएको थियो । राज्य संघीय ढाँचामा गएपछि ती कार्यालय अन्यत्र गाभिएपनि मन्त्रालयले सञ्चालन गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।


2171 पटक हेरिएको 

