मुगु १२ फागुन । महिनावारी हुँदा ५ दिनसम्म घरभित्र प्रवेश नगर्ने मुगुको शोभा गाउँका महिला अहिले गोठमा बस्दैनन् । महिनावारी भएको बेला पनि उनीहरु घरभित्रै बस्छन् । नुहाईधुँवाई गर्छन् । सुत्केरी हुँदा पोषिलो खानेकुरा खान्छन् । रोवा गाविस वडा नं ७ को शोभा गाउँका १ सय २६ घरमै यो प्रचलन अब पुरानो भइसकेको छ ।
महिनावारी भएको समयमा विभेद भोग्दै आएका महिला, घरका पुरुष र धामी समेतको सल्लाहबाट गाउँलाई छाउपडीमुक्त बनाइदै लगेको हो । शोभाका ७० बर्षका धर्मदत्त बुढा (जो प्रख्यात धामी भनेर चिनिनुहुन्छ) भन्नुहुन्छ ‘द्धन्द्धकालमा माओवादीले दबाब दिएर महिनावारी र सुत्केरी भएका महिलाहरुलाई घर भित्र बस्न लगाए, खाना पकाउन र खुवाउन लगाए । तर देवता रिसाएनन् त्यसैले हामी महिलालाई घरभित्रै राख्न राजी भयौं ।’
महिला सफा भएमा देउता झन् खुशी हुँदा रहेछन् भन्ने लाग्छ मलाई त । धामी धर्मदत्त बुढाले थप्दै भन्नुभयो ‘अहिले त यहाँ महिलाहरु महिनावारी भएको बेलामा घर बाहिर बस्दैनन् उनीहरु नुहाईधुवाई गर्छन्, सफा भएर बस्छन् ।’ घरभित्रै बसेर पोषिलो खानेकुरा खान पाएपछि शारीरिक कमजोरी पनि महसुस नभएको शोभा गाउँकी रमाकली शाहीले बताउनुभयो ।
पहिले महिनावारी भएको बेला गोठ तथा ओढार खोज्दै हिड्नुपर्ने अवस्था सम्झिदै रमाकलीले भन्नुभयो ‘अहिले त हामी सुखमा बसेका छौं, महिनावारी भएको सफासुग्घर गर्छौ, शरीर पनि कति हलुका भएको हिजो आज ? रमाकलीले हाँस्दै भन्नुभयो ‘पहिले पहिले जीउ कति गह्रौं हुन्थ्यो, यो सब सरसफाइको अभावमा भएको रहेछ, शरिरबाट रगत बगिरहेको बेला पोषिलो खाना छैन, हामी त धन्न बाँचेका रहेछौं ।’
२४ गाविस रहेको मुगुका रोवा, माग्री, पुलु, किम्री, डोल्फु र मुगुमा छाउपडी प्रथा लगभग अन्त्य भएको छ ।


976 पटक हेरिएको 

