काठमाडौ २७ फागुन । फोहोर र दुषित खानेकुराका कारण विश्वमा बर्षेनी चार लाख मानिसको ज्यान जाने गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौमा गरेको नवौँ खाद्य स्वच्छता दिवसमा दुषित खानेकुराका कारण ज्यान जानेको संख्या धेरै रहेको बताएको हो ।
दक्षिण एसियाका देशहरुमा मात्र बर्षेनी १५ करोड मानिस बिरामी पर्नुका साथै एक लाख ७५ हजारले ज्यान गुमाउने गरेको र त्यसमा छ करोड बालबालिका बिरामी पर्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताउनुभयो ।
कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले अनावश्यक रासयनिक वस्तु प्रयोगका कारण खाद्य वस्तुको गुणस्तरमा कमी हुने र बिरामी पर्ने गरेको बताउनुभयो । उहाँले सम्पूर्ण नेपालीलाई स्वच्छ खानेकुरा खुवाउन कृषि मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
दुषित खानेकुराको उपभोगलाई घटाउन विभागले राजमार्ग वरपर रहेका होटलको खाद्य परीक्षण, फुटपाथका खाद्य वस्तुको परीक्षण, दूध तथा पानीको स्वच्छता मापन गरिरहेको महानिर्देशक कर्णले बताउनुभयो ।


530 पटक हेरिएको 

