दैलेखका छात्रा परीक्षार्थीलाई परीक्षा केन्द्रमै सेनेटरी प्याड !

दैलेख ३ चैत्र । माध्यमिक शिक्षा परीक्षामा सामेल भएका दैलेखका २५ वटै परीक्षा केन्द्रमा झण्डै १ हजार जनाका लागि सेनेटरी प्याड उपलब्ध गराएको छ ।

दैलेखको ७ हजार ७० परीक्षार्थी मध्ये ३७ सय भन्दा बढी छात्राहरु भएको र त्यो संख्याको झण्डै एक चौथाईलाई महिनावारी भएको हुनसक्ने अनुमानको आधारमा परीक्षा केन्द्रमा सेनेटरी प्याड पठाइएको महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो ।

महिनावारीको बेला हुने रक्तश्रावले लगाएको कपडा भिज्ने, महिनावारी सरसफाइमा समेत समस्या पर्ने र यसैका कारण परीक्षामा स्फूर्तिका साथ लेख्न नसक्ने अवस्थाको बिश्लेषण गरी जिल्ला समन्वय समितिको सहयोगमा सेनेटरी प्याड उपलब्ध गराएको महिला विकास अधिकृत ज्ञवालीले बताउनुभयो ।

महिला तथा बालबालिका कार्यालयले सेनेटरी प्याड पठाएको जानकारी पाएपछि जिल्ला स्वास्थ्य कार्यालयले समेत सबै परीक्षा केन्द्रमा प्राथमिक उपचार सामग्री पठाएको छ ।

महिला तथा बालबालिका कार्यालयले सेनेटरी प्याड दिएको जानकारी पाएपछि स्वास्थ्य कार्यालयबाट पनि प्राथमिक उपचार सामग्री पठाउन प्रेरित गरेको डा. शोभित थापाले बताउनुभयो ।

परीक्षाको समयमा दिइएको सेनेटरी प्याडले बालिकाको मनोविज्ञान बलियो हुने र यसले नतिजा सुधार्न सहयोग पुग्ने गैडावाज परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामजीवन खङ्गले बताउनुभयो । परीक्षाको समयमा छात्राहरुका लागि सेनेटरी प्याड र प्राथमिक उपचार सामग्री उपलब्ध गराएको यो पहिलो हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार