यमन : युद्धग्रस्त देश यमनमा हैजाबाट १ हजार १ सय ४६ को मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले निकालेको प्रतिवेदनले गत अप्रिल २७ बाट सुरु भएको हैजाको प्रकोपबाट अहिलेसम्म १ हजार १ सय ४६ जनाको ज्यान गएको जनाएको हो । साथै हैजाबाट अरु १ लाख ६६ हजार ९ सय ७६ जना प्रभावित भएको जनाएको छ । ती विरामीहरु अधिकांश उपचारपछि घर फर्किएका भने अरु केही उपचाररत छन् ।
दुषित पानी र अस्वस्थकर खानपानका कारण यमनका २३ प्रान्त मध्ये २० प्रान्तमा हैजा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
गत अप्रिल २७ देखि अहिलेसम्म २० वटा प्रान्तमा भएको हैजाको महामारी उच्च गतिमा फैलिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले दुई हप्तामा यस रोगबाट प्रभावितको सख्ंया १ लाख ३० हजार पुग्ने अनुमान गरेको थियो ।
तर गत महिना विश्व स्वास्थ्य संगठनले आगामी ६ महिनाभित्र यो संख्या ३ लाख पुग्ने बताएको थियो । यमनमा फैलिएको हैजाको महामारी अहिले सम्म पनि काम भएको छैन । — सिन्ह्वा


545 पटक हेरिएको 

