हिउँदमा पानीको दुःख भयो ? अर्को हिउँदका लागि यसरी जोहो गर्नुहोस् !

काठमाडौ : हरेक बर्ष हिउँद लागेपछि पानीको समस्या हुने घटना तपाई हाम्रा लागि सामान्य जस्तै बन्दै गइसकेको छ । पानीका लागि हामीले यत्ति दुःख गर्न सक्ने भइसक्यौं कि, एक जना दिनैभरि पानीका लागि खट्न पनि तयार हुन्छौं ।

तर समयै ध्यान पु-याए अरु वस्तु जस्तै पानीको पनि जोहो गर्न सकिन्छ । मौसमविदहरुका अनुसार देशभर मनसुन फैलिदै गएको छ । पूर्वबाट केही दिन अघि नै भित्रिएको मनसुन देशका अन्य भूभागमा पनि फैलिदै गएको छ ।

बर्षातको पानी संकलन गरेर राख्ने हो भने हिउँदमा हुने पानीको समस्या भोग्नै पर्दैन । यस्तो प्रविधि ठाउँ ठाउँमा अपनाउन थालेपनि थाहा नभएको क्षेत्रमा अझै पनि बर्षातको पानीलाई खेर पठाइरहेका छौं ।

बर्षातको पानी संकलन कसरी गर्ने त ?

बर्षातको पानी जम्मा गरिराख्न केही सामगीहरुको आवश्यकता पर्छ । जो निम्न छन् ।

छानो : परेको पानी खस्ने क्षेत्र अर्थात घरको छाना, कौसी नै आकाशेपानी संकलनका लागि मुख्य मुहान हो । संकलन वा जम्मा हुने पानीको मात्रा यसको क्षेत्रफलमा निर्भर गर्छ ।

संकलित पानीको गुणस्तर पनि संकलन क्षेत्रको प्रकारमा निर्भर रहन्छ । आकाशेपानी पिउनका लागि प्रयोग गर्ने हो भने, जस्तापाता तथा सिमेण्ट ढलान गरेको छानालाई उचित संकलन क्षेत्र मानिन्छ । जस्तापाताल बर्षातको पानी संकलनका लागि सबैभन्दा उत्तम मानिन्छ ।

यसको प्रयोगबाट विश्व स्वास्थ्य संगठनले तोकेको पानीमा हुनुपर्ने जिंकको मात्रा मापदण्ड भन्दा बढी हुने संभावना रहँदैन र तुलनात्मक रुपमा यसको सतह चिल्लो हुनुका साथै धुलो, सुकेका पातहरु, चराचुरुङ्गीका विष्टाहरुबाट हुने संक्रमण पनि कम हुन्छ । घाम लागेको बेलामा छाना बढी तातिने कारणले केही ब्याक्टेरियाहरु स्वतः नष्ट हुन पुग्दछन् ।

सम्प्रेषण प्रणाली :  छानाबाट संकलन गरिएको आकाशेपानीलाई ट्याङ्कीसम्म पु-याउने माध्यम नै सम्प्रेषण प्रणाली हो । यस अन्तर्गत छानोको पानी खस्ने र त्यहाँबाट ट्याङ्कीसम्म जाने पाईपहरु पर्दछन् ।

शुरुमा परेको पानीले छाना तथा पाइपमा भएका फोहोर, धुलो, चराचुरुङ्गीका विष्टा आदि पखालेर ल्याउने हुँदा शुरुको १५–२० मिनेटसम्मको पानी पहिलो पानी फाल्ने संयन्त्रबाट फालेर मात्र ट्याङ्की तर्फ पठाउनुपर्दछ ।

पाइप : छानाबाट संकलन भएको पानीलाई ट्याङ्कीसम्म पाइपबाट लैजाने गरिन्छ । छानाको प्रकार बमोजिम पाइपको किसिम निर्धारण गरिनु पर्दछ । हाल प्रचलनमा कालो पोलिथिनको पाईपबाट ट्याङकीसम्म पठाइन्छ ।

पहिलो पानी बगाउने संयन्त्र : पहिलो पानी बगाउने संयन्त्र आकाशेपानी संकलन प्रणालीको अत्यन्त महत्वपूर्ण र संवेदनशिल भाग हो । गुणस्तरीय पानीको लागि यसको ब्यवस्था र उचित प्रयोग अनिवार्य रहन्छ ।

पानी परेपछि पहिलो पटक घरको छाना/कौशी पखालिदा जम्मा हुने फोहरहरुलाई छुट्याएर अलग्गै बगाई सफा पानीलाई मात्र संकलन ट्याङ्कीतिर पठाउनु नै पहिलो पानी बगाउने संयन्त्रको मुख्य काम हो ।

घरको छाना वा अरु कुनै पानी जम्मा गर्ने ठाउँमा धूलो, फोहर र चराचुरुङ्गीका विष्टाहरु हुन सक्छन् र पानी परेपछिको पहिलो पानीले बगाएर ट्याङ्कीमा लैजाने सम्भावना हुन्छ । यसो हुँदा पानी प्रदुषित भई गुणस्तर घट्न जान्छ । त्यसैकारण पहिलो परेको पानीलाई ट्याङ्कीमा जान नदिनका लागि पहिलो पानी बगाउने संयन्त्र राख्नु अनिवार्य हुन्छ ।

पानी छान्ने प्रणाली : आकाशेपानी संकलन क्षेत्रमा भएका धूलो, फोहर तथा अन्य वस्तुहरु सबै पहिलो पानी बगाउने संयन्त्रबाट समेत पूर्ण रुपमा नहट्न सक्छन् र संकलित पानीलाई ट्याङ्कीमा प्रवेश गर्न दिनु अगाडि पानी छान्ने प्रणालीको व्यवस्था गर्नु उचित हुन्छ ।

पानी धमिलो भएको खण्डमा पानीलाई एकपटक थिग्य्राउने र पानी छान्ने संरचनाबाट छानेर मात्र ट्याङ्कीमा पठाउनु पर्दछ । पानी छान्ने प्रणाली निर्माण गर्दा गिट्टि, बालुवाको तहहरु निर्माण तथा मसिना जालीहरुको प्रयोग गरिन्छ ।

पानी भण्डारण गर्ने ट्याङ्की : आफूलाई पानी चाहिएको बेलामा पानी नपर्ने हुनाले पानी भण्डारण गर्ने उपाय अपनाउनु पर्छ । यस प्रणालीलाई भरपर्दाे बनाउनका लागि प्रति व्यक्ति प्रति दिन कति पानी आवश्यक पर्छ ? जम्मा पानीको आपूर्ति कति हुन्छ ? आयोजना क्षेत्रमा औसत वार्षिक कति पानी पर्छ ? संकलन गर्ने छानाको क्षेत्रफल तथा सुख्खा मौसमको अवधिको आधारमा ट्याङ्कीको क्षमता निर्धारण गर्नु पर्दछ ।

पानी भण्डारण ट्याङ्की नचुहिने र आवश्यकता परिपूर्ति गर्ने क्षमताको हुनु पर्दछ । पानी संकलन ट्याङ्कीको प्रयोग गर्दा मानिस र पशुपंक्षीबाट हुने संक्रमण तथा अन्य वातावरणीय संक्रमणलाई सकेसम्म कम गर्नका लागि छोप्ने प्रावधान (ढकनी) को व्यवस्था अनिवार्य हुनुपर्छ । लेऊ उम्रिन नदिन र लामखुट्टेको प्रजनन हुन नदिनका लागि पनि पानी ट्याङ्की राम्ररी छोप्नु पर्छ ।

विभिन्न किसिमका पानी भण्डारण गर्ने ट्याङ्कीहरु मध्ये नेपालको सन्दर्भमा प्लाष्टिक, ढुङ्गा/ईट्टाको गाह्रो भएका, आर.सि.सि. गारो भएका र फेरो सिमेण्ट ट्याङ्की तथा घैंटाहरु नै बढी प्रचलनमा छन् ।

— विभिन्न सन्दर्भ सामग्रीको आधारमा तयार पारिएको


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार