काठमाडौमा अण्डरग्राउण्ड ट्वाइलेट बनाऔं – विज्ञ

काठमाडौ : काठमाडौ उपत्यकामा सार्वजनिक शौचालयका लागि जग्गा प्राप्त गर्न कठीन भएपछि अण्डरग्राउण्ड शौचालय बनाउने बिषयमा छलफल तथा वहश हुन थालेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र गैरसरकारी संस्था महासंघले काठमाडौमा गरेको ‘नेपालको सन्दर्भमा दिगो विकास लक्ष्यको प्रगति पुनरावलोकन’ कार्यक्रममा लुमन्तीका उद्धव भट्टराईले काठमाडौ उपत्यकामा सार्वजनिक शौचालयको आवश्यकता भएपनि जग्गा नभएका कारण बनाउन नसकेको र अब अरु विकल्प खोज्नुपर्ने बताउनुभयो । ‘काठमाडौका लागि सार्वजनिक शौचालय अति आवश्यक छ, अहिले भएका शौचालय पनि अधिकांश उपयोग गर्न सक्ने अवस्थाका छैनन्, कम्तीमा होटलमा भएका शौचालय जत्तिको होस् न ! त्यसभित्र पसेपछि सुरक्षित महसुस होस्, ढुक्कले दिसापिसाब गर्न पाइयोस्, यहाँ त कतै चुकुल छैन, कतै पानी छैन, कतै दुर्गन्ध, प्रयोग गर्न सक्ने खालकै छैन’ उहाँले भन्नुभयो ।

काठमाडौ उपत्यकामा सार्वजनिक शौचालय निर्माणका लागि जग्गा उपलब्ध गराउनुपर्ने र जग्गा अभाव भएमा अण्डरग्राउण्ड ट्वाइलेट बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो । ‘हामीले सार्वजनिक शौचालय निर्माणका विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ, लन्डनमा अण्डरग्राउण्ड ट्वाइलेट छ, अब हाम्रोमा पनि किन नबनाउने ? यता तिर हाम्रो ध्यान जान जरुरी छ, इच्छाशक्ति भएमा बनाउन सकिन्छ’ उहाँले भन्नुभयो ।

काठमाडौमा सार्वजनिक शौचालय बनाउने जग्गा प्राप्त नभएमा वा अण्डरग्राउण्ड बनाउने विषयमा पनि सहमत हुन नसके काठमाडौमा सार्वजनिक शौचालय बनाउन विनियोजन गरिएको बजेटले भैरहवा, चितवन, विराटनगर, धरान, झापा लगायतका शहरमा बनाउन सकिने सुझाव दिनुभयो ।

कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक सुनिल कुमार दासले Sectoral Development Plan (SDP) मन्त्रीपरिषदमा पुगेको र चाँडै पारित हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । त्यसअघि कार्यक्रमका सहभागीले Sectoral Development Plan (SDP) को मस्यौदा निर्माण भएको लामो समय भइसक्दा समेत पारित हुन नसकेको र यसको अभावमा दातृ निकायलाई प्रस्ताव पेश गर्न समेत गाह्रो भएको बताएका थिए ।

यस्तै खानेपानी तथा सरसफाइ मन्त्रालयका सह सचिव आशिष घिमिरेले नीति नियम र ऐनहरु राम्रा बनेपनि यसको कार्यान्वयन पक्ष फितलो भएको बताउनुभयो । उहाँले खानेपानी र सरसफाइ क्षेत्रको एकीकृत कानुनको रुपमा Sectoral Development Plan (SDP) बनिरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिल बाबु श्रेष्ठ, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्याल र विश्व स्वास्थ्य संगठनका नेसनल प्रोफेसनल अफिसर डा. सूदनराज पन्थी लगायतले नेपालले खानेपानी र सरसफाइ क्षेत्रमा राखेको दीगो विकास लक्ष्य र यसका चुनौतीका विषयमा आ– आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार