लिखिता बराल, दैलेख : दैलेखको बेलासपुर खानेपानी आयोजनाले २०५३ सालमा पानी वितरण गर्दा आयोजनासँग १९ वटा सामुदायिक धारा मात्र थिए ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा सामुदायिक धारा मार्फत पानी वितरण गर्न बनाइएका ती धाराहरु केही समयपछि अवरुद्ध भए । सामुदायिक धाराको अवधारणाबाट अघि बढेको खानेपानी बन्द भएपछि यसको कारण खोजी थाले खानेपानी उपभोक्ताले । उपभोक्ताकै प्रयासबाट पुनः सञ्चालनमा आएको बेलासपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँग अहिले ६ वटा सामुदायिक धारा र २ सय ९ वटा नीजि धारा सहित २ सय १५ धारा छन् ।
बेलासपुर खानेपानी आयोजना अरु आयोजना भन्दा अलि फरक छ । संस्थाले हरेक आर्थिक क्रियाकलाप वित्तिय संस्थाबाट मात्र गर्दै आएको छ, हरेक कुराको निर्णय समितिको नियमित बैठकबाट गरिन्छ भने संस्थालाई दुरगामी असर पार्ने किसिमका निर्णयहरु बार्षिक साधारण सभाबाट पारित गरेपछि मात्र कार्यान्वयनमा ल्याउने गरेको समितिका अध्यक्ष कृष्ण केसीले बताउनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आफ्नै कार्यालय पनि छ । समितिका कर्मचारीलाई कामप्रति अभिप्रेरित गर्न बर्षातको समयमा मर्मत सम्भार कार्यकर्तालाई छाता र जुत्ता किन्नका लागि रकम उपलब्ध गराउदै आएको समितिका कोषाध्यक्ष बासुदेव शर्माले बताउनुभयो । ‘खानेपानी विग्रिएमा तत्काल बनाउन चार जना मर्मत सम्भार कार्यकर्ताको पनि व्यवस्था गरेका छौं, ती कार्यकर्ताहरु तालिम प्राप्त र स्रोत साधनले सम्पन्न छन्’ कोषाध्यक्ष शर्माले बताउनुभयो ।
जहाँ पानी विग्रियो दिनरात नभनी खटेर काम गर्ने कार्यकर्ताका कारण पनि बेलासपुर खानेपानी आयोजना साँच्चिकै नमुना बनेको हो । सिनियर मर्मत सम्भार कार्यकर्ता देवीलाल कोइराला भन्नुहुन्छ ‘हामीलाई खबर आउन साथ हामी दिनरात नभनी उपभोक्ताको सेवामा खटिरहन्छौं ।’
‘पोलिथिन पाइप भएकाले बेला बेलामा बिग्रिरहन्छ, विग्रने वित्तिकै मर्मत गर्नका लागि कार्यकर्ताहरु तयारीमा रहने त छँदैछ, उनीहरुले नसकेको खण्डमा अन्य साधनको समेत व्यवस्था हुन्छ’ समितिका कोषाध्यक्ष बासुदेव शर्माले भन्नुभयो ।
उपभोक्ता, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीहरुले आ–आफ्नो जिम्मेवारी पूरा गरेमा मात्र संस्था जीवित रहन्छ । यही कुरा आफूहरुको आयोजनामा लागु गरिएको समितिका अध्यक्ष कृष्ण केसीले दाबी गर्नुभयो ।