लुतो हो कि पिलो : तीजको गीतमा सरसफाइको कुरा

लिखिता बराल, ललितपुर : श्रीमतीको शरिर चिलाउँछ, जीउभरि बिबिरा आउँछ, धेरै भइसक्दा पनि निको नभएपछि धामी लगाउँछन् डेटोलले नुहाउँछन् अनि गीतमै भन्छन् ‘धामी झाँक्री लाउँदा नि भएन, डेटोल लाएर नुहाउँदा नि गएन, छाम्दा गिलो गिलो, घरी घरी चिलाउने, छाम्दा गिलो गिलो, हेरिदेउन बूढो यो, लुतो हो कि पिलो ।’

जत्ति जे गर्दा नि निको नभएपछि श्रीमान्लाई लुतो नै हो भन्ने भान हुन्छ । काठमाडौको फोहोर पानीले नुहाएका कारण लुतो निस्केको भन्दै श्रीमान्ले जवाफ दिन्छन् ‘काठमाडौको टयूवबेलको पानीले, लुतो आयो फोहोरी बानीले’

श्रीमान् अस्पतालमा जानुपर्छ भन्नेमा पनि सजग हुन्छन् । कतै आफैलाई सर्ने हो कि भनेर सावधानी पनि अपनाउँछन् । गीतले अन्धविश्वासमा भर पर्न नहुने र अस्पतालमा जानुपर्ने कुरालाई पनि सुक्ष्म तरिकाले बुझाउन खोजेको छ । ‘दबै खान सुई लाउन पर्छ कि ? नत्र भने मलाई नि सर्छ कि ?’ यो शब्दले सरुवा रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भएकाले सजग हुनुपर्ने र त्यो भन्दा अघि यसको रोकथाम गर्नुपर्ने कुरालाई मिहीन तरिकाले केलाइएको छ ।

अन्त्यमा अस्पतालमा जानुभन्दा घरमै डाक्टर बोलाउने सल्लाह हुन्छ । डाक्टरले स्वास्थ्य परिक्षण गर्न थालेपछि अस्पताल लैजान ढिलो गरेकोमा पछुतो मान्दै श्रीमान् भन्छन् ‘बल्ल थाहा भो ढिलो पो भएछ, रोग लुकाउन नहुने रहेछ’

श्रीमतीको शरिरमा देखिएको बिबिरा न लुतो हुन्छ न पीलो नै, डाक्टरले स्वास्थ्य परिक्षण गरेपछि एलर्जी भएको प्रमाणित हुन्छ । समयमा सरसफाइ गर्न र खानपानमा ध्यान दिन आग्रह गर्दै डाक्टर घरबाट बाहिरिन्छ ।

गीतका शब्दहरु र अभिनयको हाउभाउमा अश्लिलता झल्किएपनि गीतले दिन खोजेको सन्देश सकारात्मक छ । धामी झाँक्रीको भर पर्न नहुने, समयमै डाक्टरको सम्पर्कमा पुग्नुपर्ने र सरसफाइ तथा स्वस्थकर आनीबानीमा ध्यान दिनुपर्ने यो गीतको मुख्य सन्देश रहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार