काठमाडौ : ‘पहिले तीस फीट गहिराइमै भेटिने पानीको सतह अहिले ६० फिटमा पनि भेट्न मुश्किल छ’ ललितपुरका प्रकाश कर्माचार्यले भन्नुभयो ‘जमिन मुनिको पानी भासिदै गएको यो भन्दा अरु प्रमाण के चाहियो ?’
जमिन मुनिको पानी बोरिङ गर्ने तर जमिनमुनि छिर्ने अर्थात पुनर्भरण गर्ने काम नभएकाले जमिनमुनिको पानीको सतह दिनानुदिन घट्दै गएको हो ।
कर्मचार्यका अनुसार मल्लकालीन समयमा काठमाडौं उपत्यकाको खानेपानी भूमिगत स्रोतमा निर्भर थियो । जमिनमुनिको पानी तानिरहने तर पक्की संरचनाले वर्षातको पानी जमिनमुनि छिर्न नपाउँदा भूमिगत पानीको सतह घट्दै गएको हो ।
केही वर्षअघिसम्म बर्षातको पानी रिचार्ज अर्थात पुनर्भरण हुने भएकाले काठमाडौ उपत्यकाका ढुंगेधारा र इनारमा अटुट रुपमा पानी आउथ्यो । ठूलाठूला फाँट तथा खुला ठाउँबाट आकाशबाट परेको पानी जमिनमुनि छिथ्र्यो र भूमिगत पानीको सतह घट्न पाउँदैनथ्यो । काठमाडौ उपत्यकाका तीनै जिल्लाका राजकुलाहरूले पनि जमिन मुनि पानी छिर्न पाउँथ्यो ।
ललितपुर महानगरपालिका सम्पदा संरक्षण विभागकी वरिष्ठ आर्किटेक्ट चन्द्र शोभा शाक्य भन्नुहुन्छ ‘पक्की संरचना बनाउने र पिच तथा सडक ढलान गर्ने कामले वर्षातको पानी जमिनमुनि छिर्न पाएन, जमिनमुनि छिर्नको सट्टा नाली, ढल हुँदै खोलामा बगिरहेको छ ।’
जमिनमुनिको पानी रिचार्ज भएको तुलनामा धेरै पानी बोरिङ गरिरहेकाले भूमिगत पानीको सतह भासिदै गएको हो । काठमाडौं उपत्यकाको सहरी क्षेत्रभन्दा बाहिर रहेका र भूमिगत पानी राम्रो सँग पुनर्भरण भइरहेको मूलपानीमा समेत सन् २००१ र २०१३ मा खनेको डिपबोरिङबाट पानीको सतह घट्दै गएको देखाएको छ ।
त्यस क्षेत्रमा सन् २००१ मा ३३ दशमलव ३ मिटरमा भेटिएको पानीको सतह सन् २०१३ मा ३६ मिटर गहिराइमा मात्र भेटिएको थियो ।
काठमाडौ उपत्यकामा भूमिगत पानीको परिमाण झण्डै १५ अर्ब घनमिटर रहेको एक अध्ययनले देखाएको छ । अहिलेकै अनुपातमा भूमिगत पानीको प्रयोग गरिरहने र पुनर्भरणका लागि नसोच्ने हो भने अबको सय वर्षभन्दा अगावै सुख्खा शुरु हुने अध्ययनले औल्याएको छ ।
बर्षातको पानी जमिनमुनि पठाउनका लागि रिचार्ज पिटहरु बनाउने वा घर बनाउँदा पनि खाली क्षेत्र छोड्न लगाउने हो भने पानीको पुनर्भरण हुने काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणा बताउनुहुन्छ । सडक पिच गरेपनि ड्रेनेजहरुबाट पानी बग्ने र जमिनमुनि छिर्ने सिस्टम राख्नुपर्ने उहाँले बताउनुभयो ।