बैतडी, लिखिता बराल : बैतडीको दोगडाकेदार गाउँपालिका –३ श्रीकोटकी लक्ष्मी भाटलाई महिनावारी हुँदा के लगाउने भन्ने तनावले घेर्न छोडेको छ । महिनावारी हुँदा लगाउने सेनेटरी प्याड आफैले बनाएर लगाउन थालेपछि उहाँलाई महिनावारीको समयमा सजिलो भएको हो ।
लक्ष्मीलाई मात्र होइन, सेनेटरी प्याड बनाउने सीप सिकेपछि दोगडाकेदार गाउँपालिकाका तीनसय बढी महिलाले विगतमा भोगेजस्तो दुःखसँग सामना गर्नुपरेको छैन । सामुदायिक सिकाइ केन्द्रले दोगडाकेदार गाउँपालिकामा सेनेटरी प्याड बनाउने तालिम दिएको हो ।
प्रजनन सम्बन्धी रोगबाट टाढै रहनका लागि महिनावारी सरसफाइमा बढी ध्यान दिनुपर्ने र यसका लागि सुरक्षित सेनेटरी प्याड निर्माण गर्न पनि सिकाएको सामुदायिक सिकाइ केन्द्रका रामचन्द्र अवस्थीले बताउनुभयो । सेनेटरी प्याडको प्रयोगले महिनावारी भएका बेला सरसफाइ गर्न सजिलो हुने महिलाहरु बताउँछन् ।

सामुदायिक सिकाइ केन्द्रले सञ्चालन गरेको तालिममा सेनेटरी प्याड बनाउन सिक्दै महिलाहरु ।
पहिला पहिला महिनावारी भएको बेला चारदिन सम्म नुहाउन नपाइने नियम भएपनि अहिले दिनदिनै नुहाउने गरेको दोगडाकेदारकी ३५ बर्षीया ईश्वरी भाटले बताउनुभयो । ‘प्याड भनेको के हो ? भन्ने थाहै थिएन, हामी सँग भएको कपडा नै प्रयोग गथ्र्यौ, अहिले त एकदमै सजिलो भएको छ’ ईश्वरीले भन्नुभयो ‘हामी अहिले नरम कपडा ल्याएर गाउँघरमै प्याड बनाउँछौं र प्रयोग गर्छौं ।’
सेनेटरी प्याडका विषयमा थाहा भएका महिलाको पनि बजारसम्म जाने र किन्ने पहुँच थिएन । बजारसम्म जाने समय पनि नपाउने र समय पाएकाले पनि आर्थिक अभावमा सेनेटरी प्याड किन्न नसकेको दिन सम्झिदै श्रीकोटकी लक्ष्मी भाटले भन्नुभयो ‘पहिले कति गाह्रो हुन्थ्यो, सफा कपडाको अभावमा कति गाह्रो गरी प्रयोग ग-यौं, ती दिनहरु सम्झिनै मन लाग्दैन, अब आफैले बनाउन जान्ने भएपछि बजारमा पुग्नु नि परेन, किन्नलाई पैसा पनि चाहिएन ।’
महिलाको गतिशीलता बढ्यो
पहिले पहिले महिनावारी भएको बेला समूहको बैठकमा समेत जान नसक्ने महिलाहरु अहिले नियमित बैठकमा जाने गरेका छन् । महिनावारी भएको बेला रगत बग्ने र सबैका सामू बस्न अप्ठ्यारो भएर बैठकमा भाग नलिने महिला अहिले बैठकममा सहभागी हुन थालेका छन् ।
‘अहिले सेनेटरी प्याड बनाएर प्रयोग गर्न थालेपछि यताउता जान पनि सजिलो भएको छ, रगत चुहिएर अरुले देख्लान् भन्ने डर हुदैन, अब त निर्धक्क सँग सार्वजनिक कार्यक्रमहरुमा जान थालेकी छु’ श्रीकोटकी शान्ति नाथले भन्नुभयो ।
दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका महिलाह समूहको बैठकमा समेत महिनावारी भएको सरसफाइमा ध्यान दिनुपर्ने विषयमा छलफल गर्छन् । उनीहरुले गाउँका अन्य महिलालाई समेत सेनेटरी प्याड प्रयोग गर्न सल्लाह दिन थालेका छन् ।


708 पटक हेरिएको 

