युवाको पहलमा सानो डुमरवानामा बने, घरघरै धारा र चर्पी

बारा : केही समय अघिसम्म शौचालय भएको घर भेट्न समेत मुश्किल पर्ने बाराको डुमरवाना गाविस (साबिक) को वडा नं. ५ मा हिजोआज घरघरै शौचालय र धारा निर्माण भएको छ ।

छोटो समयमै डुमरवानामा आएको परिवर्तनले स्वयं सरसफाइ अभियानमा लागेकाहरु पनि दङ्ग परेका छन् ।

सरसफाइ अभियानमा लागेका डुमरवानाका युवा सन्जय चौधरी भन्नुहुन्छ ‘यत्ति चाँडो परिवर्तन आएको देखेर हामी आफै दंग परेका छौं, वरिपरिका गाउँमा चर्पी बनेको कुरा सुनेर पनि होला ? यहाँका समुदाय चाँडै तातिए, हामीलाई पनि काम गर्न सजिलो भयो ।’

सन्जय जस्ता गाउँका युवाले प्रत्येक घरमा शौचालय र धारा अनिवार्य निर्माण गर्नुपर्छ भन्ने अभियान चलाएपछि यो सम्भव भएको हो । कतिपय घरमा त गाउँका युवा मिलेर उनीहरुले सकेजत्ति सहयोग पनि गरेका छन् ।

‘गाउँलेहरु शौचालय र धारा बनाउन तातिएपछि हामी पनि अझ उत्साहित भयौं, त्यसैले धमाधम काम भयो अहिले त हरेक घरमा चापाकल गाडिएकै छ, घरघरमा चर्पी बनेका छन् हामीलाई पनि आनन्द आउँछ’ सञ्जयले भन्नुभयो ।

गाउँका युवा तथा हरेक घरका मानिस सक्रिय भएर लागेपछि शौचालय नहुँदा भोग्नुपरेका समस्या अब सम्झनामा मात्र सीमित भएका छन् । डुमरवानाकी प्रमिलादेवी चौधरी भन्नुहुन्छ ‘घरमा चर्पी नहुँदा झिसमिसेमै दिसापिसाब गर्न बाहिर जानुपथ्र्यो, कहिले मानिसले देख्ला भन्ने डर, कहिले साँपले डस्ला भन्ने पीर, हामीले ढुक्क सँग दिसापिसाब कहिले पनि गर्न पाएका थिएनौं, तर आनन्द छ अहिले त ?’

घरआँगनमा बाँधिएका चौपाया सार्ने तयारी

शौचालय निर्माण भएपछि डुमरवानाका बासिन्दाले घर आँगनमा बाँध्दै आएका पशुचौपाया पनि अन्यत्र सार्ने प्रबन्ध मिलाउन थालेका छन् ।

‘कुनै बेला शौचालय भएको घर पाउन पनि मुश्किल थियो, अहिले शौचालय छ, धारा पनि भयो, अब घरमा बाँधेका गाइगोरु र भैसीले फोहोर बनाइरहेको छ, हामी यसलाई पनि सार्ने योजनामा छौं’ डुमरवानाकी प्रमिलादेवी चौधरीले बताउनुभयो ।

‘हामीले पहिले नजानेर दुःख पाएका रहेछौं, बाहिर दिसा गर्न नहुने कारण बुझेका छौं, स्वस्थ भएर जिउनका लागि सफा वातावरणको कति खाँचो रहेछ भन्ने कुरा बल्ल थाहा पाएर घरघरमा चर्पी बनाएर प्रयोग गरिरहेका छौं’ हिजोआज सानो डुमरवानाका हरेक बासिन्दाको मुखबाट यही कुरा सुन्न पाइन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार