डुबानग्रस्त क्षेत्रमा खानेपानी अभाव, सुरक्षित पानी वितरण नगरिए अर्को विपदको खतरा

काठमाडौ, दिक्पाल गिरी : डुबानमा परेका पूर्वी र मध्य तराईका जिल्लामा खानेपानीको चरम अभाव भएको छ । बाढीले कतिपय खानेपानीका संरचना बगाएका छन् भने नियमित खानेपानी आपूर्ति हुँदै आएको चापाकल डुबेका छन् ।

डुबानग्रस्त क्षेत्रबाट सुरक्षित ठाउँमा निस्केर बसेपनि खानेपानीको अभावमा ज्यान जोगाउनकै लागि असुरक्षित पानी समेत पिउन बाध्य भएको विराटनगर महानगरपालिका १ का बत्तुराम यादवले बताउनुभयो । विराटनगरको कोशी राजमार्ग पश्चिमको क्षेत्रमा खानेपानीको अभाव भएको उहाँले बताउनुभयो ।

विराटनगर महानगरपालिकको ४, ५, ६, ११ र १२ नम्बर वडाका करिब ५ सय ५० घरलाई खानेपानीको अभाव छ  मोरङकै रतुवामाई नगरपालिकाको गोविन्दपुरमा पनि खानेपानीको अभाव छ । त्यहाँ रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बाढी पस्दा खानेपानीको संरचनामा क्षति पुगेको छ ।

सुनसरीमा पनि उस्तै समस्या

सुनसरी खोलामा आएको बाढीले भोक्राहा बस्ती डुबानमा पर्दा सुरक्षित खानेपानीबाट बञ्चित भएका छन् । सुनसरी खोलामा आएको बाढीले तटबन्ध भत्काएर बस्तीमा पसेपछि खानेपानीको समस्या भएको हो । भोक्राहाका एक हजार जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिए पनि खानेपानीकै समस्या भएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जनाकारी दिनुभयो ।

टेलिफोन अवरुद्ध हुँदा विवरण संकलनमा समस्या
सुनसरीका विभिन्न वस्ती डुबानमा परेको र त्यसक्षेत्रमा भइरहेको खानेपानी समस्याको विवरण संकलन गर्नै समस्या भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्र केसरीले जानकारी दिनुभयो । ‘यत्ति धेरै वस्ती डुबानमा पर्दा खानेपानीको समस्या नहुने त कुरै आउँदैन, तर अझै एकीन विवरण संकलन गर्न समस्या भइरहेको छ, टेलिफोन सम्पर्क भइरहेको छैन, हामी यथार्थ विवरण संकलनको प्रयास गरिरहेका छौं, त्यसपछि कसरी समस्या हल गर्न सकिन्छ ? हामी विभागसँग पनि सल्लाह गर्र्छौ’ डिभिजन प्रमुख धर्मेन्द्र केसरीले भन्नुभयो ।

सिरहामा बेचो खोलाले खानेपानीमा क्षति

सिरहाको विभिन्न गाउँमा बाढीले खानेपानीमा क्षति पु-याएको छ । डिमा खोलाले कर्जन्हा गाउँपालिकाको गौताडीमा खानेपानीमा क्षति पु-याउँदा खानेपानीको समस्या भएको हो । यस्तै बेचो खोलाको बाढीले कल्याणपुर नगरपालिका–४ मा खानेपानीको समस्या भएको छ  ।

सर्लाहीको दर्जन बढी गाउँमा खानेपानीको हाहाकार

सर्लाहीको सदरमुकाम मलंगवा सहित खैर्बा, सिसौट, छटौल, महिनाथपुर, मानपुर, सुदामा, बलरा, भाडसर, अचलगड लगायत दक्षिणी भेगका दर्जनौ गाउँ डुबानमा पर्दा खानेपानीको समस्या भएको छ ।

डुबानका कारण जमिनको मुनिको पानीको स्रोत पूरै दुषित भएको र ज्यान बचाउन दुषित पानी नै पिउनुपर्ने अवस्था रहेको धनकौल गाउँपालिका, मानपुरका सिद्धी रायले बताउनुभयो । सर्लाहीकै बरहथवा नगरपालिकाको सीतापुरमा पनि खानेपानीको अभाव भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिनुभयो ।

सप्तरीको हनुमान नगर र मल्हनियाँ टोलमा खानेपानी अभाव

सप्तरीको खाँडो, जिता, बिहुल, त्रियुगा लगायत नदीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको कुशहा र बनरझुला वस्तीमा सयौं खानेपानीको संरचनामा क्षति पुगेको छ । क्षति एकीन विवरण नआएपनि ती क्षेत्रमा सुरक्षित खानेपानीको अभाव भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।

हनुमाननगर योगिनीमाई नगरपालिकाको मल्हनियाँ टोलमा मात्र ३ सय १० घरलाई खानेपानीको समस्या भएको छ  ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार