काठमाडौ, लिखिता बराल : बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको महामारी फैलिन सक्ने भएकाले सावधानी अपनाउन जनस्वास्थ्य विज्ञले अनुरोध गरेका छन् । पानी र खाद्यजन्य महामारी एकैदिनमा फैलिन सक्ने भएकाले सरकारले सुरक्षित पानीको प्रबन्ध मिलाउन र प्रभावित आफैले पनि खानेपानी शुद्धीकरण गरेर मात्र पिउन स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. विडी चटौतले बताउनुभयो ।

उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगहरु झाडापखाला, हैजा, टाइफाइड, लगायत फैलिन सक्ने सम्भावना छ । बाढी प्रभावित क्षेत्रमा २४ घन्टा भित्रै पानीजन्य रोग देखिन सक्ने सम्भावना भएकाले सुरक्षित पौष्टिक खाना र पानीको आपुर्ति गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘शिविरमा दिसापिसावको उचित व्यवस्थापन गर्नुपर्छ, दिसापिसाब जथाभावी गर्न थाल्यौ भने एक दुई दिनमै रोग फैलिन सक्छ’ उहाँले भन्नुभयो
एक अध्ययन अनुसार पानी शुद्धीकरण गरेर पिउँदा झाडापखालामा ३९ प्रतिशतले कमी ल्याउन सकिन्छ । यस्तै साबुन पानीले हातधुने बानीले ४५ प्रतिशत र चर्पीको नियमित प्रयोगबाट ३२ प्रतिशतले कमी ल्याउन सकिन्छ ।
यसरी गर्ने पानी शुद्धीकरण
पानी शुद्धीकरण गर्ने विभिन्न तरिकाहरु छन् । घाम लागेको खण्डमा, ती मध्ये बाढीबाट विस्थापित परिवारका लागि सोडिस विधि नै उत्तम हो । यो सरल र भरपर्दो घरेलु विधि हो ।

थिग्राउने विधि
बर्षातका कारण पिउने पानी धमिलो भएको छ । धमिलो पानीलाई कुनै भाँडामा थिग्राउने । पानी थिग्रिएपछि बालुवा तथा अरु कणहरु पिंधमा गएर बस्नेछ । विस्तारै अर्को सफा भाँडामा खन्याउने, त्यत्तिबेला सम्म धमिलो पानी केही सङ्लो भइसकेको हुनेछ ।
त्यसपछि सफा कपडाको सहायताले छान्ने, विपदको बेला सिरकको खोल राम्ररी धोएर त्यसलाई पट्याएर पनि पानी छान्न सकिन्छ ।
करिव चार बर्ष अघि सुर्खेत, बाँके, बर्दिया, दाङ लगायतको ठाउँका बाढी प्रभावितमा झाडापखालाको फैलिएको थियो । विपदको समयमा सावधानी अपनाउन नसके फेरि अर्को विपद निम्तिने भएकाले पानी शुद्धीकरण गरेर मात्र पिउन डाक्टरले आग्रह गरेका हुन् ।


918 पटक हेरिएको 

