काठमाडौ : सरकारले हालैको बाढीबाट तराई मधेसका १५ जिल्लाको खानेपानी संरचनामा क्षति पुगेको जनाएको छ । झापा, मोरङ, सप्तरी, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, बर्दिया, बाँके र दाङका खानेपानीमा क्षति पुगेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विद्युत आपूर्तिको अभावमा पम्पिङ प्रणालीका खानेपानी आयोजनाहरुको सेवा अवरुद्ध भएको छ । यस्तै डुबानमा परेका गाउँपालिका तथा नगरपालिकामा रहेका स्यालो ट्यूबवेल तथा शौचालय पूर्ण रुपमा बन्द भएको छ । तर यसको एकीन विवरण आइनसकेको मन्त्रालयले जनाएको छ ।
कहाँ कति क्षति ?
महोत्तरी
महोत्तरीको खयरमारा खानेपानी आयोजनाको मुख्य पाइपलाइनमा क्षति पुगेपछि खानेपानी सेवा बन्द भएको छ । २५० मिटर पाइप लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो । यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीको कार्यालय डुबान पर्दा कार्यालयको महत्वपूर्ण कागजात पानीले भिजेको छ ।
मोरङ
मोरङको लेटाङ खानेपानी आयोजना र केराबारी खानेपानी आयोजनाको इन्टेक तथा पाइप लाइनमा क्षति पुग्दा खानेपानी सेवा अवरुद्ध भएको छ ।
पर्सा
पर्साको बुलबुले खानेपानी आयोजनाको पाइपलाइनमा क्षति पुग्दा खानेपानी सेवा अवरुद्ध भएको छ ।
दाङ
दाङको तुलसीपुर खानेपानी आयोजना अन्तर्गत दोघरेको रफिङ्ग फिल्टर पहिरोले पुरिएको छ ।
रौतहट
रौतहटको पिपरा खानेपानी आयोजना र कोटीयाई खानेपानी आयोजनाको कम्पाउण्ड वालमा क्षति पुगेको छ ।
बाढी प्रभावितलाई राहत दिन रेपिड रेस्पोन्स टीम परिचालन
बाढी प्रभावितलाई सुरक्षित खानेपानीको प्रबन्ध मिलाउन, क्षतिको विवरण संकलन गरी प्रतिवेदन तयार पार्न रेपिड रेस्पोन्स टीम परिचालन गरिएको छ ।
आइतबार खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवको उपस्थितिमा खानेपानी र सरसफाइको क्षेत्रमा सहयोग गरिररहेका विकास साझेदार स्वदेशी तथा विदेशी संस्थाहरु, मन्त्रालय र विभागका पदाधिकारीहरु बीच छलफल गरी रेपिड रेस्पोन्स टीम बनाइ परिचालन गरिएको खानेपानी तथा सरसफाइ सचिव भीम उपाध्यायले जानकारी दिनुभयो ।