बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको ४ टोली परिचालन

काठमाडौ, लिखिता बराल :  स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको केन्द्रीय टोली परिचालन गरेको छ । हेल्थ इमर्जेन्सी अप्रेसन सेन्टरको आपतकालीन बैठकले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणि भण्डारीको संयोजकत्वमा ४ वटा विपद व्यवस्थापन समिति गठन गरी परिचालन गरिएको हो ।

कुन कमिटी कसको नेतृत्वमा ?

प्राकृतिक विपद्को व्यवस्थापन गर्न मन्त्रालयले ४ क्षेत्रमा ४/४ जना सदस्य रहने गरी देशभर १६ जना स्वास्थ्यकर्मी खटाएको छ । डा. गुणनिधि शर्माको संयोजकत्वमा ४ जनाको टोली विराटनगर खटिएको छ । यस्तै भीम सापकोटाको संयोजकत्वमा जनकपुर र सागर घिमिरेको संयोजकत्वमा रौतहटमा टोली परिचालन गरिएको छ ।

नेपालगन्जमा भने परशुराम श्रेष्ठको टोली खटाइएको स्वास्थ्य सचिव डा. किरण रेग्मीले बताउनुभयो ।

सबै विभाग र महाशाखाबीच समन्वय नहुँदा विपद व्यवस्थापनमा चुनौती भएकाले स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको निर्देशन अनुसार प्रभावित चारै क्षेत्रमा केन्द्रीय टोली परिचालन गरिएको हो । ‘पानी पर्न रोकिएपछि झाडापखाला जन्डिस लगायत पानीजन्य रोजहरु देखिन सक्ने भएकाले हामीले तत्काल टोली परिचालन गरिएको हो’ स्वास्थ्य सचिव रेग्मीले भन्नुभयो ।

प्रभावि क्षेत्रमा सात दिनसम्म स्वास्थ्य सेवा निःशुल्क गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले बाढी  प्रभावित जिल्लाका सबै अस्पतालमा सात दिनसम्म निःशुल्क  स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले झाडापखाला, हैजा, आउ, हेपाटाइटिस, टाइफाइड र सर्पदंशजस्ता रोग देखापर्न सक्ने हुँदा आवश्यक, औषधि र स्वास्थ्यकर्मीलाई खटाउने निर्णय गरेको स्वास्थ्य सचिव रेग्मीले जानकारी दिनुभयो ।

‘बाढीबाट विस्थापित परिवार उपचार सेवाबाट वञ्चित हुन नपरोस् र झाडापखाला, हैजा जस्ता सरुवा रोगहरू फैलिन नपाउन् भन्ने हेतुले यस्तो प्रबन्ध मिलाएका हौं’ स्वास्थ्य सचिव डा. किरण रेग्मीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार