महोत्तरी : बाढीका कारण विस्थापित भएर खुला सडक तथा विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावित बिरामी पर्न थालेका छन् । उनीहरुमा झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, छाला चिलाउने जस्ता रोग देखिन थालेका छन् ।
महोत्तरीको जलेश्वर, मटिहानी, बलवा, रामगोपालपुर, लोहारपटि, मेघनाथ गोरहन्ना, सम्सी, श्रीपुर, भंगहा, हरिहरपुर हरिणमरि, बथनाहा लगायतमा रोग फैलिएको मेघनाथ गोरहन्नाका शिक्षक श्याम गिरिले बताउनुभयो ।
आफुहरु सँग पर्याप्त भाँडा नभएका कारण पानी उमाल्न नपाएको र शुद्धीकरणका अन्य उपाय पनि अपनाउन नसकेको बाढी प्रभावित बताउँछन् ‘यस्तो चिसोमा रात विताउनुपरेको छ, शुद्ध पानी कहाँ खोज्न जाउँ, धमिलो पानी नै थिग्राएर खाइरहेका छौं, लौ न हामीलाई के यस्तो दशा लाग्यो, बाढीबाट जोगिएका हामी झाडापखालाले मरौला भन्ने पीर भयो’ हरिहरपुरकी मनिसरी देवी सदाले भन्नुभयो ।

ती गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी तथा औषधि समेत अभाव रहेको शिक्षक गिरिले जानकारी दिनुभयो ।
महोत्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्रका बाढी प्रभावित खुला आकासमुनि सडकको छेउ छाउमा बस्दै आएका छन् । महिला, बालबालिका तथा वृद्ववृद्वामा स्वास्थ्य समस्या देखिएको जनस्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरिक्षक गिरेन्द्र झाले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय र जलेश्वर अस्पतालको कम्पाउण्डमा बाढी पसेपछि उपचारमा समेत कठिनाई भएको छ । बाढीको पानी जिल्ला स्वास्थ्य कार्यालयको औषधि भण्डारण कक्षमा समेत पसेको स्वास्थ्य निरीक्षक झाले बताउनुभयो ।
महोत्तरीमा वाढीले तीन जनाको ज्यान लिएको छ भने करोडौको भौतिक सम्पक्ति नष्ट भएको छ ।


739 पटक हेरिएको 

